अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको छ: योगेश भट्टराई

नेपाललाई असफल राष्ट्र बनाउने षड्यन्त्र भइरहेको छ: योगेश भट्टराई


काठमाडौं-नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राज्यका प्रमुख निकायहरूलाई क्रमशः कमजोर बनाउँदै नेपाललाई असफल राष्ट्र घोषणा गराउने षड्यन्त्र भइरहेको हुन सक्ने आशङ्का व्यक्त गरेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उपमहासचिव भट्टराईले संसद्, न्यायालय, सुरक्षा निकाय, कर्मचारीतन्त्र, प्रेस तथा अर्थतन्त्रलगायत राज्यका विभिन्न संरचनामाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको बताएका हुन्।

उपमहासचिव भट्टराईले संसद्लाई बेकम्मा बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने, कर्मचारीको मनोबल गिराउने तथा प्रेसमाथि सेन्सरसिप लगाउने प्रयास भइरहेको उल्लेख गरेका छन्। त्यस्तै आफ्नै तथा अन्य राजनीतिक दलहरूलाई किनाराकृत गर्ने, व्यापारी तथा उद्योगीहरूलाई लखेट्ने, परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने र गरिब तथा सुकुम्वासीहरूको उठीबास लगाउने काम भइरहेको उनको आरोप छ।

देशको वर्तमान परिस्थितिलाई औँल्याउँदै उपमहासचिव भट्टराईले लेखेका छन्, ‘संसद्लाई बेकम्मा बनाउने, न्यायालयलाई कब्जा गर्ने, सेना र प्रहरीलाई लाचार बनाउने, कर्मचारीको हुर्मत लिने, प्रेसमाथि सेन्सरसिप लगाउने, आफ्नै र अरू दललाई किनाराकृत गर्ने, व्यापारी र उद्योगीहरूलाई लखेट्ने, परराष्ट्र सम्बन्धलाई लथालिङ्ग बनाउने, गरिब र सुकुम्वासीहरूको उठीबास लगाउने, कानुन र संविधानको धज्जी उडाउने, धार्मिक र साम्प्रदायिक द्वन्द्वलाई बढवा दिने कार्य भइरहेको छ।’

उपमहासचिव भट्टराईले कानुन र संविधानको धज्जी उडाउने तथा धार्मिक र साम्प्रदायिक द्वन्द्वलाई बढावा दिने गतिविधिहरू बढ्दै गएको दाबी गर्दै यसले सामाजिक अराजकता सिर्जना गरिरहेको बताएका छन्।

‘यसरी सामाजिक अराजकता र राज्यआतंकमार्फत नेपाललाई असफल राष्ट्र घोषित गर्ने षड्यन्त्र त हुँदैछैन ?’ उपमहासचिव भट्टराईले फेसबुकमा प्रश्न गरेका छन्।

उपमहासचिव भट्टराईको अभिव्यक्तिलाई राजनीतिक वृत्तमा सरकार र राज्य सञ्चालनको वर्तमान अवस्थाप्रति गरिएको गम्भीर टिप्पणीका रूपमा हेरिएको छ।