काठमाडौं-सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई पदबाट बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरिएको छ। सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहाएको आरोपमा निलम्बनमा परेका दाहाललाई बर्खास्त गर्न छानबिन समितिले सिफारिस गरेको हो।
गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले बिहीबार आफ्नो प्रतिवेदन मन्त्रालयमा बुझाउँदै दाहाललाई बर्खास्त गर्न गृहमन्त्री सुधन गुरुङसमक्ष सिफारिस गरेको हो।
‘अब उनलाई गृहमन्त्रीज्यूले बर्खास्तको निर्णय पनि गर्न सक्नुहुन्छ’, गृह स्रोतले शुक्रबार बिहान नेपालखबरसँग भन्यो।
दाहालमाथि छानबिन गर्न गृह मन्त्रालयले गत सोमबार समिति गठन गरेको थियो। मन्त्रालयले उनलाई निलम्बन गर्दै तीन दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकेको थियो।
मन्त्रालयका अनुसार सशस्त्र प्रहरी बल, नेपालबाट दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस प्राप्त भएको थियो। सोही अभियोगमाथि जाँचबुझ गर्न मन्त्रालयले समिति गठन गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको थियो।
विज्ञप्तिमा मन्त्रालयले कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी र विश्लेषण गरिरहेको पनि जनाएको थियो।
त्यस्ता गैरकानुनी गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने मन्त्रालयले स्पष्ट पारेको थियो।
छानबिन समितिको सिफारिसपछि अब दाहाललाई बर्खास्त गर्ने वा नगर्ने निर्णय गृह मन्त्रालयबाट हुनुपर्नेछ।



प्रतिक्रिया