काठमाडौं-नेकपा (एमाले)बाट निर्वाचित भएर अन्य राजनीतिक दलमा प्रवेश गरेका चार जना स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले एमालेको सिफारिसका आधारमा असोज २२ गते निर्णय गर्दै उनीहरूको पद रिक्त भएको सूचना जारी गरेको हो।
पदमुक्त हुनेमा लुम्बिनी प्रदेशको कपिलवस्तुस्थित विजयनगर गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी र सोही गाउँपालिका-५ का वडाध्यक्ष अनवर मोहम्मद मुसलमान रहेका छन्। उनीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए।
त्यस्तै, कोशी प्रदेशको भोजपुर जिल्लास्थित भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र भोजपुर नगरपालिका-८ का वडाध्यक्ष नवीन प्रधानको पद पनि रिक्त भएको छ। उनीहरू श्रम संस्कृति पार्टीमा प्रवेश गरेका थिए।
२०७९ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित उनीहरूले पार्टी परित्याग गरी अन्य दलमा प्रवेश गरेपछि एमाले केन्द्रीय सचिवालयले कारबाहीको निर्णय गर्दै निर्वाचन आयोगलाई जानकारी गराएको थियो।
आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम उनीहरूको पद रिक्त गरिएको हो।




प्रतिक्रिया