काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसंयोजन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका, समसामयिक राजनीतिक घटनाक्रम तथा नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे छलफल हुँदैछ।
पार्टी प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकले महाधिवेशन सञ्चालनसम्बन्धी कार्यविधि र नयाँ कार्यतालिकाबारे निर्णय गर्नेछ। स्थानीय तहको निर्वाचनपछि महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउने तयारी पार्टीले गरेको छ।
यसअघि घोषणा गरिएको दुईमहिने पार्टी अभियान सञ्चालनका विषयमा पनि बैठकमा छलफल हुने ज्वालाले बताए। असोज ६ गते बसेको बैठकले असोज १५ देखि मंसिर १५ गतेसम्म दुई महिना अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो।
बैठकमा वरिष्ठ नेता झलनाथ खनाल भने सहभागी भएका छैनन्। पार्टीभित्र निरन्तर फरक मत राख्दै आएका खनालले पार्टीबाट कारबाहीमा परेका नेताहरूसँग मिलेर समाजवादी जागरण अभियान घोषणा गरेका थिए।
खनालको अभियानलाई लिएर पार्टीभित्र छलफल हुन लागेको हो। प्रवक्ता ज्वालाका अनुसार खनाललाई स्पष्टीकरण सोध्ने वा नसोध्ने भन्ने विषयमा बैठकले निर्णय गर्नेछ।
पार्टीको आधिकारिक अभियान र खनालले घोषणा गरेको छुट्टै अभियानलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत बैठकले धारणा तय गर्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया