काठमाडौं-शिक्षकलाई सवारीसाधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित नियमावलीअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु.५० लाख रुपैयाँसम्म र द्वितीय श्रेणीका शिक्षकले रु.४० लाख रुपैयाँसम्मको सवारीसाधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तह तृतीय श्रेणी तथा निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले रु. ४ लाख रुपैयाँसम्मको दुईपाङ्ग्रे सवारीसाधन खरिद गर्न पाउने व्यवस्था प्रस्ताव गरिएको छ।
नियमावलीमा सवारीसाधन खरिदका लागि बैंकमार्फत लिइने वित्तीय सुविधामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप बेहोर्ने व्यवस्था गरिएको छ। बाँकी २० प्रतिशत रकम भने शिक्षक आफैँले व्यवस्थापन गर्नुपर्नेछ।
प्रस्तावित व्यवस्थाअनुसार शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्नेछ। यसबाट शिक्षकलाई सवारीसाधन खरिद गर्न आर्थिक सहुलियत पुग्ने अपेक्षा गरिएको छ।



प्रतिक्रिया