अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनदेवीकाे बार्दलीबाट देउवाकाे चुनाैती: ‘राजा ज्ञानेन्द्रले सकेनन्, अरूले के सक्लान् ?’

चुनदेवीकाे बार्दलीबाट देउवाकाे चुनाैती: ‘राजा ज्ञानेन्द्रले सकेनन्, अरूले के सक्लान् ?’


काठमाडौं-नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूविरुद्ध भइरहेका राजनीतिक तथा कानुनी गतिविधिबाट विचलित नहुने बताएका छन्। लामो समयको विदेश बसाइपछि साउन २८ गते बिहीबार स्वदेश फर्किएका देउवाले कांग्रेसको संस्थापन इतर पक्षको सम्पर्क कार्यालय, चुनदेवीमा नेता-कार्यकर्तालाई सम्बोधन गर्दै आफूविरुद्ध विभिन्न षड्यन्त्र र मुद्दाहरू चलाइए पनि सत्यको जित हुने विश्वास व्यक्त गरे।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नरम रूपमा प्रस्तुत भएका देउवा चुनदेवी पुगेर भने आक्रामक शैलीमा देखिएका थिए। सम्बोधनका क्रममा उनले आफू र पत्नी आरजु राणा देउवाविरुद्ध अन्तर्राष्ट्रिय तथा स्वदेशी तहमा मुद्दा चलाउने प्रयास भएको उल्लेख गर्दै ती सबै प्रयास असफल भएको दाबी गरे।

‘हाम्रो खिलापमा मुद्दा हालियो। अन्तर्राष्ट्रिय क्रिमिनल कोर्टमा पनि मुद्दा हालेका थिए तर शेरबहादुर र आरजुलाई पक्रेर काम छैन भनिदियो। यहीँ नेपालमा पनि मुद्दा लगाइएको छ, यस्ता फटाहाहरू छन् यहाँ,’ देउवाले भने। उनले सर्वोच्च अदालतले समेत आफूहरूलाई पक्राउ नगर्न आदेश दिएको स्मरण गराउँदै त्यसपछि पनि विभिन्न किसिमका गतिविधि भएको आरोप लगाए।

देउवाले सम्पत्ति शुद्धीकरण अनुसन्धानसँग सम्बन्धित निकायले पटकपटक अनुसन्धान गरे पनि कुनै प्रमाण फेला पार्न नसकेको दाबी गरे। ‘एक पटक आयो, केही छैन भन्यो। दोस्रो पटक आयो, केही छैन भन्यो। त्यसपछि उसलाई नै हटाइयो। यतिसम्म बदमासीपूर्ण काम भएको छ,’ उनले भने। यद्यपि आफूले कसैप्रति बदलाको भावना नराख्ने स्पष्ट पारे।

पूर्वराजा ज्ञानेन्द्र शाहको प्रसंग उल्लेख गर्दै देउवाले आफूलाई राजनीतिक रूपमा समाप्त पार्ने प्रयास विफल भएको दाबी गरे। ‘राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्लान् यहाँ ?’ भन्दै उनले आफूविरुद्ध लाग्नेहरूलाई समयले नै जवाफ दिने बताए।

देउवाले नेपालमा गणतन्त्र स्थापना संविधानसभाको निर्णयबाट भएको स्मरण गराउँदै त्यसको श्रेय वा दोष एक व्यक्तिलाई मात्र दिन नमिल्ने बताए। ‘संविधानसभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो। मैले मात्रै चाहेर आएको होइन। नेपाली जनता सबैभन्दा ठूलो शक्ति हो, जनता नै मालिक हुन्। मालिकले जे भन्छ, त्यही हुन्छ,’ उनले भने।

देउवाको यो अभिव्यक्तिलाई स्वदेश फर्किएलगत्तै पार्टीभित्र र बाहिर उठिरहेका विभिन्न राजनीतिक बहस तथा आफूविरुद्धका आरोपप्रति दिएको स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ।