काठमाडौं-नेकपा एमालेको स्थायी कमिटी बैठक आज शुक्रबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका विभिन्न कमिटी तथा सङ्गठनलाई पूर्णता दिने विषयमा छलफल हुने भएको छ।
उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषयमा छलफल गरी आवश्यक निर्णय गर्ने तयारी छ। बैठकमा पार्टीका विभाग, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च, पोलिटब्युरो र स्थायी कमिटीलाई पूर्णता दिने तथा बाँकी केन्द्रीय सदस्य मनोनयन गर्ने विषय मुख्य एजेन्डाका रूपमा रहेका छन् ।
संगठनात्मक संरचनालाई व्यवस्थित बनाउने उद्देश्यले बैठकमा बाँकी जिम्मेवारी र मनोनयनसम्बन्धी विषयमा छलफल हुन लागेको हो ।
यसअघि बिहीबार बसेको स्थायी कमिटीको पहिलो बैठकले राष्ट्रिय भेला, वडा तथा पालिका अधिवेशन, रिक्त जिल्ला अध्यक्ष पदपूर्ति र मधेस प्रदेशसभाको समानुपातिकतर्फ रिक्त सांसद पदमा उम्मेदवार सिफारिस गर्नेलगायत निर्णय गरेको थियो ।
भण्डारीलाई वरिष्ठ नेताको शपथ
बिहीबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको वरिष्ठ नेताको पद तथा गोपनीयताको शपथ गराएका थिए । एमालेले वरिष्ठ नेताको जिम्मेवारी दिएपछि भण्डारी औपचारिक रूपमा पार्टीको सक्रिय राजनीतिमा फर्किएकी छन् ।
मङ्सिरमा राष्ट्रिय भेला, वडा र पालिका अधिवेशनको मिति तय
बैठकले आगामी मङ्सिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधि सहभागी हुनेछन्।
त्यस्तै, एमालेले मङ्सिर २६ गते वडा कमिटी र पुस ४ गते पालिका कमिटीका अधिवेशन गर्ने निर्णय गरेको छ। स्थानीय तहका अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णयसमेत बैठकले गरेको छ।
१३ जिल्लामा अध्यक्ष चयन गरिने
बैठकले जिल्ला अध्यक्ष पद रिक्त रहेका १३ जिल्लामा सम्बन्धित जिल्ला कमिटीबाटै अध्यक्ष चयन गरी अनुमोदनका लागि माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको छ। जिल्ला तहमा नेतृत्व रिक्त हुँदा संगठनात्मक काम प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो ।
मधेस प्रदेशसभाको रिक्त समानुपातिक सांसद पदमा नाजमा खातुन
एमालेले मधेस प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट निर्वाचित सांसद जैनब खातुनको निधनपछि रिक्त स्थानमा बन्दसूचीमा रहेकी नाजमा खातुनलाई मनोनयनका लागि निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको छ ।
बिहीबारको बैठकमा संगठनसम्बन्धी प्रस्ताव, केन्द्रीय कमिटीबाट निर्णय हुन बाँकी विषय र मधेस प्रदेशको समानुपातिक उम्मेदवार चयनलगायत चार एजेन्डामा छलफल भएको थियो । बाँकी विषयमा थप छलफल गर्नुपर्ने भएपछि बैठक शुक्रबार पुनः बस्ने गरी स्थगित गरिएको थियो ।
आजको बैठकले पार्टीका विभिन्न कमिटीलाई पूर्णता दिने विषयमा निर्णय गरेमा एमालेको संगठनात्मक संरचना व्यवस्थित गर्ने प्रक्रिया थप अघि बढ्ने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया