धनगढी-सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको छ।
राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख मियाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका गरेका छन् ।
दाबी पेस गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिइएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार तोकिएको समयभित्र सम्बन्धित दलहरूको समर्थनसहित बहुमतको आधार प्रस्तुत गर्दै दाबी पेस गर्नुपर्नेछ।
मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्ने आधार नदेखिएपछि बिहीबार पदबाट राजीनामा दिएका थिए। उनको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको बाटो खुलेको हो।
नयाँ समीकरणअनुसार नेकपा नेतृत्वमा नेकपा एमालेको साझेदारीमा प्रदेश सरकार गठन हुने तयारी छ। नेकपा संसदीय दलका नेता खगराज भट्टलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ। भट्ट डडेल्धुरा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
प्रदेश प्रमुखको आह्वानअनुसार शुक्रबार बिहान ११ बजेसम्म बहुमतको आधारसहित मुख्यमन्त्रीमा दाबी पेस भएपछि प्रदेश प्रमुखले संविधानबमोजिम नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्। यससँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढ्नेछ।



प्रतिक्रिया