विराटनगर-कोशी प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीचको सत्ता साझेदारीअनुसार आज मन्त्रिपरिषद् हेरफेर हुने भएको छ।
एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच साउनको पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम नेकपाले टुंगो लगाएलगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आजै दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
मन्त्रिपरिषद् हेरफेरपछि आज दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ गराउने तयारीसमेत गरिएको छ।
मन्त्रालय बाँडफाँटमा एमालेले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय र नेकपाले चार मन्त्रालय पाउने सहमति भइसकेको छ। यद्यपि नेकपाले पाउने मन्त्रालयको औपचारिक टुंगो भने सार्वजनिक गरिएको छैन।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार नेकपाले भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन, पर्यटन तथा स्वास्थ्य वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व पाउने सम्भावना छ।
मन्त्रिपरिषद् हेरफेरको तयारी भइरहे पनि नेकपाले भने सरकारमा पठाउने मन्त्रीहरूको नाम अझै टुंगो लगाउन सकेको छैन। शुक्रबार साँझ अबेरसम्म बसेको नेकपा संसदीय दलको बैठकमा १७ मध्ये १४ जना सांसदले मन्त्री बन्ने आकांक्षा व्यक्त गरेका थिए।
सांसदहरूको आकांक्षा र दाबी सुनेपछि पार्टीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संयोजक हर्कबहादुर नेम्वाङ र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसहितका नेताहरू आज बिहान ९ बजे पुनः बैठक बस्दैछन्।
मन्त्री छनोटको जिम्मेवारी इन्चार्ज राई, संयोजक नेम्वाङ र दलका नेता आङ्बोलाई दिइएको छ। उनीहरूको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरूको नामलाई अन्तिम रूप दिने तयारी छ।
नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार आजै मन्त्रीहरूको नाम टुंगो लगाएर साँझसम्म सरकारमा सहभागिताका सबै विषयलाई अन्तिम रूप दिइनेछ।
नेकपा पदाधिकारीको बैठक दलका नेता आङ्बोको निवासमा बस्ने तय भएको छ। सरकारले आजै मन्त्रिपरिषद् हेरफेर गरेमा एमाले र नेपाली कम्युनिष्ट पार्टीबीच भएको सत्ता साझेदारी औपचारिक रूपमा कार्यान्वयनमा जानेछ।


प्रतिक्रिया