अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई एमालेसहित चार दलको समर्थन

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई एमालेसहित चार दलको समर्थन


बुटवल-लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई प्रदेशसभामा विश्वासको मत प्राप्त हुने लगभग निश्चित भएको छ। नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने घोषणा गरेका छन्। कांग्रेस र जनमत विपक्षमा उभिँदा राप्रपा भने तटस्थ रहने भएको छ।

सोमबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत मागेपछि विभिन्न दलका नेताहरूले आफ्नो धारणा राख्दै सरकारको पक्षमा मतदान गर्ने प्रतिबद्धता जनाएका हुन्। एमाले संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठले एमालेको तर्फबाट विश्वासको मत दिने स्पष्ट पारे। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका दल नेता जोखबहादुर महरा, जसपा नेपालकी हेमा बेल्वासे तथा राष्ट्रिय जनमोर्चाका तारा थापाले पनि आचार्यको पक्षमा मतदान गर्ने घोषणा गरे।

सरकारलाई समर्थन गर्ने दलहरूको यस्तो घोषणासँगै मुख्यमन्त्री आचार्यको पक्षमा बहुमत सुनिश्चित भएको छ। विश्वासको मत लिनुअघि सरकार समर्थक दलका सांसदहरू एमाले प्रदेश कार्यालयमा भेला भएका थिए। त्यसपछि उनीहरू सामूहिक रूपमा प्रदेशसभा बैठकमा सहभागी भएका थिए।

यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने मुख्यमन्त्री आचार्यलाई विश्वासको मत नदिने निर्णय गरेको छ। प्रदेशसभा बैठकमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने जानकारी दिएका छन्। कांग्रेसले आफ्ना सांसदहरूलाई विपक्षमा मतदान गर्न ह्वीपसमेत जारी गरेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विश्वासको मतको पक्ष वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको छ। राप्रपाकी प्रमुख सचेतक मिनाकुमारी श्रेष्ठले मत विभाजनको क्रममा पार्टी तटस्थ रहने जानकारी प्रदेशसभामा गराइन्।

त्यस्तै, जनमत पार्टीले पनि मुख्यमन्त्री आचार्यको विश्वासको मत प्रस्तावको विपक्षमा मतदान गर्ने जनाएको छ। जनमत पार्टीका दल नेता चन्द्रकेश गुप्ताले सरकारको पक्षमा मतदान नगर्ने स्पष्ट पारे।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री आचार्यले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। दलका नेताहरूले आफ्नो धारणा राखिसकेपछि अब प्रदेशसभामा मत विभाजनमार्फत विश्वासको मतसम्बन्धी प्रस्तावको टुंगो लाग्नेछ।