अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सभामुख र उपसभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ: महासचिव पोखरेल

सभामुख र उपसभामुखले तटस्थ भूमिका निर्वाह गर्नुपर्छ: महासचिव पोखरेल


काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुख र उपसभामुख निर्वाचित भएपछि दलगत आबद्धताभन्दा माथि उठेर तटस्थ र निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले संविधानले सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने स्पष्ट व्यवस्था गरेको उल्लेख गरेका छन्। महासचिव पोखरेलले सभामुखको भूमिकाका विषयमा यसअघि विभिन्न प्रश्न उठेको भए पनि पछिल्लो समय आफ्नो भूमिकामा सुधार ल्याउन खोजेको देखिएको बताएका छन्।

तर, उपसभामुखको भूमिकामा समेत समस्या देखिएको पोखरेलको टिप्पणी छ। उपसभामुख राष्ट्रिय श्रम संस्कृति पार्टीबाट समानुपातिक कोटामा निर्वाचित सांसद रहेको उल्लेख गर्दै महासचिव पोखरेलले पदमा निर्वाचित भएपछि दलगत आबद्धताभन्दा माथि उठेर निष्पक्ष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

‘उपसभामुखले आफ्नो दलप्रति निरपेक्ष हुने नाममा सत्तापक्षको पक्षपोषण गर्नु संवैधानिक व्यवस्था र संसदीय प्रणालीको मर्ममाथिकै प्रहार हो,’ महासचिव पोखरेलले भनेका छन्।

महासचिव पोखरेलले पदीय मर्यादा र संविधानको भावनाअनुसार उपसभामुखको आचरणमा अझै सुधार आवश्यक रहेको बताएका छन्। अनुभवको कमीका कारण यस्तो अवस्था आएको हुन सक्ने उल्लेख गर्दै पोखरेलले उपसभामुखले आफ्नो भूमिकामा सुधार गर्नुपर्ने बताएका छन्।

‘पदीय मर्यादा र संविधानको भावनाअनुरूपको आचरणमा उपसभामुखको ध्यान अनुभवको कमीले हुनसक्छ, पुगेको देखिँदैन । यस विषयमा उहाँमा पनि सुधार आउनु जरुरी देखिन्छ,’ महासचिव पोखरेलले उल्लेख गरेका छन् ।

पोखरेलले संसदीय भूमिकामा निष्पक्ष हुनुको अर्थ आफ्नो दलको राजनीतिक मान्यता र विश्वासबाट पूर्णतः अलग हुनु भने नभएको पनि स्पष्ट पारेका छन् । उनका अनुसार पदीय जिम्मेवारी निर्वाह गर्दा दलगत स्वार्थभन्दा माथि उठेर संविधान, संसदीय मूल्य–मान्यता र पदीय मर्यादालाई प्राथमिकता दिनुपर्छ ।