काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसद र मन्त्रीहरूसँग छलफल गर्न संसदीय दलको बैठक बोलाएका छन्।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बिहान ११ बजे बैठक बस्ने भएको हो। बैठकमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीसहित सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको रास्वपाका मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
बुर्लाकोटीका अनुसार सरकारका काम र संसद्मा सांसदहरूले उठाउने विषयबीच तालमेल नमिलेको देखिएकाले त्यसबारे बैठकमा छलफल हुनेछ। साथै, सरकारको काम प्रभावकारी बनाउने र संसद्मा पार्टीका सांसदहरूको भूमिका सशक्त बनाउने विषयमा सभापति लामिछानेले आवश्यक निर्देशन दिनेछन्।
‘सरकारका काम र सांसदले सदनमा उठाएका विषयमा तालमेल नमिलेकोजस्तो देखियो। यस सम्बन्धमा सभापतिले आवश्यक निर्देशन दिनुहुन्छ,’ बुर्लाकोटीले भने।
पछिल्लो समय संसद्मा रास्वपाका सांसदहरूको उपस्थिति र प्रस्तुतिलाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिएको छ। कतिपय सांसद संसद् बैठकमा अनुपस्थित हुने तथा सांसदहरूको गतिविधि विवादमा आउने क्रम बढेपछि लामिछानेले संसदीय दलको बैठक बोलाएको रास्वपाका एक नेताले बताए।
रास्वपाका एक सांसदका अनुसार सभापति लामिछानेले नै अग्रसरता लिएर बैठक बोलाएका हुन्। बैठकमा संसद्मा पार्टीको प्रस्तुति, सांसदहरूको उपस्थिति र संसदीय भूमिकाबारे आवश्यक निर्देशन दिइनेछ।
रास्वपाको संसदीय दलको नेता भने प्रधानमन्त्रीसमेत रहेका वालेन्द्र शाह (बालेन) हुन्। संसदीय दलको बैठक बोलाउने जिम्मेवारी संसदीय दलका नेताको भए पनि शाह हालसम्म एकपटक मात्र संसदीय दलको बैठकमा सहभागी भएको रास्वपा नेताहरू बताउँछन्। आजको बैठकमा पनि शाह सहभागी हुने सम्भावना कम रहेको उनीहरूको भनाइ छ।
यसैबीच, सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री शाहलाई भदौ १० गते प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन बोलाएका छन्। यही पृष्ठभूमिमा लामिछानेले संसदीय दलभित्र आफ्नो सक्रियता बढाउँदै लगेका हुन्।
आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ। त्यसअघि लामिछानेले संसदीय दलको बैठक बोलाएका हुन्।


प्रतिक्रिया