मकवानपुर-हेटौंडा–१९ बस्तीपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव बुधबार फेला परेको छ।
निर्मल माध्यमिक विद्यालयबाट पढेर घर फर्किने क्रममा मंगलबार अपराह्न चार बालिकालाई बासुदेव खोलाले बगाएको थियो। घटनापछि एक बालिकाको सकुशल उद्धार गरिएको थियो भने अर्की एक बालिकाको सोही दिन मृतावस्थामा शव फेला परेको थियो। दुई बालिका भने बेपत्ता थिए।
बेपत्ता बालिकाको खोजीका लागि बुधबार बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका थिए। खोजीका क्रममा विनिता भ्लोनको शव खोलामा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
घटनामा अझै कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
मंगलबार खोलाले बगाएका चार विद्यार्थीमध्ये राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तानको शव सोही दिन फेला परेको थियो। कक्षा ६ मा अध्ययनरत सीमा भ्लोनलाई भने घाइते अवस्थामा उद्धार गरी हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी निरन्तर जुटिरहेका छन्।


प्रतिक्रिया