काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ। प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा गठन गरिएको कार्यदललाई पाँच दिनभित्र संशोधन प्रस्तावसहित कार्यविधि तयार गर्ने जिम्मेवारी दिइएको छ।
रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीका अनुसार संसदीय दलको विधान २०८३ लाई आवश्यकता अनुसार परिमार्जन गर्न कार्यदल गठन गरिएको हो। उनले कार्यदलले सांसदहरूको संसदीय भूमिका, सदनको मर्यादा, जनताप्रतिको उत्तरदायित्व, विपक्षीको आवाजको सम्मान तथा कानुन निर्माण प्रक्रियामा निर्वाह गर्नुपर्ने दायित्वलाई थप व्यवस्थित गर्ने गरी कार्यविधि तयार गर्ने बताए।
बुधबार पार्टी सभापति रवि लामिछानेको आह्वानमा बसेको सांसद र मन्त्रीहरूको संयुक्त बैठकपछि कार्यदल गठनको निर्णय सार्वजनिक गरिएको हो। बैठकमा संसदीय मर्यादा, कार्यशैली तथा संसदमा सांसदहरूको भूमिकाबारे विस्तृत छलफल भएको बताइएको छ।
बैठकमा सहभागी मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयको कार्यप्रगति प्रस्तुत गरेका थिए भने सांसदहरूले पनि सरकार र संसदीय गतिविधिमा देखिएका कमजोरी तथा सुधारका आवश्यक पक्षबारे धारणा राखेका थिए। रास्वपाले संसदीय दललाई थप प्रभावकारी, जिम्मेवार र मर्यादित बनाउन विधान संशोधनको प्रक्रिया अघि बढाएको जनाएको छ।


प्रतिक्रिया