काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारका मन्त्रीहरू फेरबदल हुने कुनै सम्भावना नरहेको बताएका छन्।
बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सांसदहरूसँगको अनौपचारिक छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले मन्त्री परिवर्तनबारे कुनै तयारी, छलफल वा योजना नभएको स्पष्ट पारे।
सभापति लामिछानेले मन्त्रीहरूले काम गर्ने क्रममा केही विषयमा प्रश्न उठ्नु स्वाभाविक रहेको उल्लेख गर्दै त्यसलाई अस्वाभाविक रूपमा नलिनुपर्ने बताए। ‘कुनै पनि मन्त्रालय वा मन्त्रीले सयवटा काम गर्दा केही काममा प्रश्न उठ्न सक्छन्। रास्वपाभित्र पनि हामी आफ्नै कामबारे प्रश्न गर्ने र समीक्षा गर्ने गर्छौं। तर मन्त्री फेर्ने कुनै तयारी छैन,’ सभापति लामिछाने भने।
सभापति लामिछानेले बुधबारको बैठक संसदीय दलको औपचारिक बैठक नभई सभापतिले सांसदहरूसँग गर्ने नियमित आन्तरिक छलफल भएको बताए। औपचारिक संसदीय दलको बैठक भने पछि बस्ने र त्यसमा दलका नेता सहभागी हुने उनले जानकारी दिए।
सभापति लामिछानेका अनुसार बैठकमा संसद्मा पार्टीको प्रस्तुतिका विषयमा छलफल भएको थियो। संसद्मा मर्यादित ढङ्गले प्रस्तुत हुने, नागरिकका दैनिक जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषयहरू उठाउने तथा साझा बुझाइका साथ अगाडि बढ्ने विषयमा सांसदहरूबीच छलफल भएको उनले बताए।


प्रतिक्रिया