काठमाडौँ-प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी नहुने भएका छन्। महासभा आगामी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा आयोजना हुँदैछ।
प्रधानमन्त्री शाह सहभागी नहुने भएपछि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गर्ने भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति दिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए।
मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्र संघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गर्ने।’
संयुक्त राष्ट्र संघको ८१औँ महासभाको औपचारिक उद्घाटन सेप्टेम्बर ८ अर्थात् भदौ २४ गते हुने कार्यतालिका छ। महासभाको उच्चस्तरीय सामान्य बहस भने असोज ६ गतेदेखि सुरु हुने जनाइएको छ।
यसअघि संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रायः प्रधानमन्त्रीले गर्दै आएका थिए। यसपटक भने प्रधानमन्त्री शाहको अनुपस्थितिमा परराष्ट्रमन्त्री खनालले नेपालको प्रतिनिधित्व गर्नेछन्।


प्रतिक्रिया