अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भावुक हुँदै अमेरिका फर्किएका धुर्मुसले लेखे- यो सरकारले पनि मेरो कुरा सुनेन, पीडा सुनाउने अवसर पनि पाइँन

भावुक हुँदै अमेरिका फर्किएका धुर्मुसले लेखे- यो सरकारले पनि मेरो कुरा सुनेन, पीडा सुनाउने अवसर पनि पाइँन


काठमाडौं-कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फेरि अमेरिका फर्किएका छन्। चितवनको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासँग जोडिएको ऋण तथा आर्थिक दायित्व समाधानका लागि दुई महिनासम्म नेपाल बसेर राज्यका विभिन्न निकायमा पहल गरे पनि न्याय नपाएको भन्दै उनी अमेरिका फर्किएका हुन्।

कट्टेलले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत आफू छोरीसहित ठूलो आशा बोकेर नेपाल फर्किएको तर दुई महिनाको अथक प्रयासपछि पनि समस्या समाधान हुन नसकेको बताएका छन्।

‘यो पटक त १०० प्रतिशत हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ उनले लेखेका छन्।

राज्यका विभिन्न निकायमा पुगेर न्यायका लागि आग्रह गरे पनि आफ्नो आवाज नसुनिएको उनको गुनासो छ। उनले रंगशालाको समस्या समाधान हुनुको सट्टा भरतपुर महानगरपालिकाबाट विनियोजित १५ करोड रुपैयाँसमेत फ्रिज हुने अवस्था आएको बताएका छन्।

कट्टेलले रंगशाला निर्माणका क्रममा लागेको १८ करोड ४३ लाख रुपैयाँको दायित्व, अधुरा सपना र मनभरिको पीडा बोकेर पुनः मातृभूमिबाट फर्किन बाध्य भएको उल्लेख गरेका छन्।

‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले लेखेका छन्, ‘देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ।’

समाज र राष्ट्रका लागि आफ्नो जीवनको १० वर्ष समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहनप्रति उनले कटाक्षसमेत गरेका छन्।

राज्यको व्यवहारबाट आफू निकै भावुक बनेको उल्लेख गर्दै कट्टेलले न्याय पाउने आशा भने अझै नटुटेको बताएका छन्। ‘मन निकै भारी भएको छ। ओठ कापेका छन्। आँखा रसाएका छन्। तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ,’ उनले लेखेका छन्।

उनले कुनै दिन राज्यले आफ्नो समस्या सम्झिने, समयले सत्य बोल्ने र आफ्नो पीडा सुनिने विश्वास व्यक्त गरेका छन्। संघर्षको मूल्य बुझिने र देशप्रतिको आफ्नो भावनाको कदर हुने आशा राख्दै उनले न्याय खोज्नेहरूको आवाज दबिन नहुने बताएका छन्।

‘त्यही दिनको पर्खाइमा हामी रहनेछौँ,’ उनले लेखेका छन्, ‘चाँडै फेरि हजुरहरूसँग भेट हुनेछ भन्ने आशामा, मुटुभरिको माया र सम्मान हजुरहरू सबैलाई।’