काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरी प्रधान कार्यालय कब्जा गरेको आरोप लगाएका छन् । उनले बिहीबार सार्वजनिक लेखा समितिको बैठकमा प्रहरीको स्रोत–साधन खरिदमा अनियमितता भइरहेको दाबी गर्दै समितिले मागेका कागजात उपलब्ध भए–नभएको जानकारी मागे। यसअघि पनि उनले यस विषय उठाएका थिए ।
समितिमा आफूले उठाएका प्रश्नमा आफू अडिग रहेको भन्दै उनले आफ्नो अभिव्यक्तिबाट कसैको मानमर्दन भएको भए कानुनी प्रक्रियामा जान चुनौतीसमेत दिए। समितिले यसअघि १५ दिनभित्र खरिदसम्बन्धी कागजात उपलब्ध गराउन भनेको थियो।
‘हामीले १५ दिन भित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं । त्यो आयो कि आएन ? फेरि यो बीचमा प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ । निश्चित बिचौलियाले प्रहरीको हेडक्वाटर कब्जा गरेका छन्’ सांसद सुनारले भने ।
‘अस्ती गरेको प्रश्नमा म अडिग छु । मजबुत छु । कहिँ कोही साथीहरूलाई मानमर्दन भयो भन्ने लाग्छ भने उतापट्टी अदालत छ गएर मुद्दा हाल्नुहोला कठघरामा उभिएर जवाफ दिन तयार छु’ उनले भने,’तर सार्वभौम समितिमा आए टोपी भुइँमा राखेर जुहारी खेल्न पाइँदैन । सरकारको मानमर्दन गर्न पाइँदैन ।’
समितिमा सांसदहरूलाई धम्क्याउने वा घेराबन्दी गर्ने व्यवहार स्वीकार्य नहुने भन्दै उनले भ्रष्टाचार छानबिनका लागि प्रश्न ‘निर्मम, गम्भीर र गहिरो’हुनुपर्ने बताए। यसअघि सुनार र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच प्रहरीको पोशाक खरिदमा अनियमितताको विषयलाई लिएर समितिमा विवाद भएको थियो।


प्रतिक्रिया