काठमाडौं-काठमाडौं उपत्यकाबाट विस्थापित भएका अर्का एक भूमिहीन सुकुम्बासीले आत्महत्या गरेका छन्। काठमाडौंको शान्तिनगर (गैरीगाउँ)स्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएर ललितपुरको टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले बुधबार आत्महत्या गरेका हुन्।
शान्तिनगरस्थित घर भत्काइएपछि सरकारले दिएको २५ हजार रुपैयाँ राहत लिएर नेपाली टिकाथलीमा डेरा गरी बस्दै आएका थिए। उनकी श्रीमती, छोराछोरीसहित सात सदस्यीय परिवार उनीमाथि आश्रित रहेको बताइएको छ।
घरबारविहीन भएपछि परिवारको आर्थिक व्यवस्थापन तथा भविष्यको चिन्ताले उनलाई सताउँदै आएको परिवारका सदस्यहरूले बताएका छन्। सोही मानसिक तनावका कारण उनले आत्महत्या गर्न बाध्य भएको परिवारको आरोप छ।
सुकुम्बासी नेता दलमर्दन कामीले सरकारले दिएको मानसिक पीडा सहन नसकेर नेपालीले आत्महत्याको बाटो रोजेको भन्दै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताए।
त्यस्तै, संयुक्त सुकुम्बासी राष्ट्रिय मोर्चाका महासचिव अर्जुन कुँवरले वैकल्पिक आवासको उचित व्यवस्था नगरी गरिब, भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई विस्थापित गर्दा आत्महत्या गर्ने क्रम बढेको दाबी गरे।
उनले सत्ता र शक्तिको दुरुपयोग गर्दै बस्ती हटाउने तर विस्थापित परिवारको पुनःस्थापना र आवासको उचित व्यवस्था नगर्ने सरकारी नीतिका कारण सुकुम्बासी परिवार थप समस्यामा परेको बताए।
शान्तिनगर (गैरीगाउँ)बाट विस्थापित भएपछि टिकाथलीमा बस्दै आएका नेपालीको आत्महत्याको घटनाले विस्थापित परिवारको पुनःस्थापना र वैकल्पिक आवासको विषय फेरि चर्चामा आएको छ।


प्रतिक्रिया