अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जय नेपाल पार्टीको पहिलो बैठकका १० निर्णय

जय नेपाल पार्टीको पहिलो बैठकका १० निर्णय


काठमाडौं-नवगठित जय नेपाल पार्टीको केन्द्रीय समितिको पहिलो बैठकले संगठन विस्तारदेखि आगामी स्थानीय तहको निर्वाचनको तयारीसम्मका १० वटा निर्णय गरेको छ।

बिहीबार पार्टीका सभापति डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले भदौ र असोजभित्र देशका ७७ वटै जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने निर्णय गरेको हो। त्यसका लागि केन्द्रीय सदस्यहरू सम्मिलित टोली खटाउने निर्णय गरिएको छ।

पार्टीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट तथा संगठन विस्तारको काम अघि बढाउने जनाएको छ। स्थानीय तहमा पार्टीका तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य र लोकप्रिय नागरिकलाई सार्वजनिक रूपमा सम्पर्कमा आउन आह्वान गर्ने निर्णयसमेत बैठकले गरेको छ।

जय नेपाल पार्टीले साउन २९ गते निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दिएको थियो।

बैठकले भदौ महिनाभित्र युवा, महिला तथा जेन–जेडसहितका जनवर्गीय संगठन, विभाग तथा समितिहरू केन्द्रीय तहमा गठन गर्ने निर्णय गरेको छ। त्यस्तै, अनलाइनबाट पार्टी सदस्यता लिन सकिने गरी विद्युतीय प्रणाली निर्माण गर्ने र पार्टीभित्र प्रशिक्षण सञ्चालनका लागि आवश्यक सामग्री तयार गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

बैठकले संविधान संशोधनमा जनताको अभिमत सम्बोधन गर्न सरकारमाथि दबाब सिर्जना गर्ने निर्णय पनि गरेको छ। पार्टीले संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत निर्माण गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने जनाएको छ।

त्यसैगरी राष्ट्रिय जनावर गाईको संरक्षण र गौहत्यामा रोक लगाउन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। सातै प्रदेशमा सुविधासम्पन्न गौशाला निर्माण गर्न राज्यलाई दबाब दिने र अभियान तथा प्रदर्शनको नेतृत्व जनवर्गीय संगठनहरूले गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रवासमा रहेका नेपाली नागरिकलाई मताधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने, विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई पार्टीमा गोलबन्द गर्न वार्ता समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

पार्टीका नीति, विचार र लक्ष्यअनुसार स्थिर तथा समुन्नत नेपाल निर्माणको मार्गचित्र तयार गर्न कार्यदल गठन गर्ने र त्यसका लागि स्वदेश तथा विदेशमा रहेका विषयगत विज्ञ नेपालीहरूको सहयोग तथा परामर्श लिने निर्णय पनि बैठकले गरेको छ।

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठकका निर्णय:

१) भदौ र असोज महिनाभित्र ७७ जिल्लामा तदर्थ जिल्ला कार्यसमिति गठन गर्ने गरी केन्दीय सदस्यहरू समावेश गरेर टोली खटाउने।

२) भदौ महिनाभित्र युवा, महिला तथा जेन जेड सहितका जनवर्गीय संगठन तथा विभाग र समितिहरू केन्द्रीय तहमा गठन गर्ने।

३) मौजुदा संविधान निर्माणको क्रममा देशभरीबाट जनताले दिएको सुझावलाई अवहेलना गरी संविधान निर्माण गरेको हुँदा उक्त सुझावको पोका खोलेर संविधान संशोधनमा जनताको अभिमत सम्बोधन गर्न सरकारमाथि आवश्यक जनदबाब सिर्जना गर्न तथा संंविधान संशोधनका लागि वर्तमान सरकारले राय सुझाव संकलन गरेको सन्दर्भमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा जनमत सिर्जना गर्दै सम्बन्धित तहमा सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले निकट भविष्यमा चरणबद्ध रूपमा देशव्यापी हस्ताक्षर संकलन गर्ने।

४) राष्ट्रिय जनावर गाईको संरक्षण गर्नु राष्ट्रिय दायित्व हो। नेपालको संविधानले राष्ट्रिय जनावरको रूपमा गाईको विशेष स्थान र संरक्षणको परिकल्पना गरेको छ । मुलुकी फौजदारी संहिताले गौहत्यालाई गैरकानुनी ठहर गर्दै कडा सजायको व्यवस्था गरेको छ।यसका बावजुद, प्रचलित कानुनी र सांस्कृतिक संवेदनशीलताका बीच पनि यदाकदा गौहत्याको घटना सार्वजनिक भए पनि राज्य मौन बस्ने र केही ठूला होटल तथा रेष्टुरेन्टहरूमा गाईको मासुका परिकारहरू बिक्रि–वितरण हुने गरेको देखिन्छ । त्यसैले, गौहत्या र गाईको मासुको खपतमा रोक लगाउने गरी राज्य लगायत सम्बन्धित पक्षमाथि दबाब सिर्जना गर्ने उद्देश्यसाथ भदौ महिनामा दबाबमूलक कार्यक्रम संचालन गर्ने। राष्ट्रिय जनावरको संरक्षण र सम्मान राज्य र नागरिकको साझा दायित्व हो भन्ने मान्यता आत्मसात गर्दै संचालन गरिने अभियान र प्रदर्शनको नेतृत्व जनवर्गीय संगठनहरूले गर्ने। गौसंरक्षणका लागि सात प्रदेशमा सुविधासम्पन्न गौशालाहरू राज्यले निर्माण गर्न जनमत सिर्जना गर्ने।

५) अनलाइन माध्यमबाट पार्टी सदस्यता लिन मिल्ने गरी भदौ महिनाभित्र विद्युतीय प्रणाली निर्माण गर्ने।

६) पार्टीभित्र प्रशिक्षण संचालन गर्न आवश्यक प्रशिक्षण सामाग्रीहरू तयार गर्न कार्यदल गठन गर्ने।

७) एक पटकको नेपाली सधैंको नेपाली भन्ने मान्यताअनुरूप प्रवासमा रहेका नेपाली नागरिकहरूलाई मतााधिकार उपलब्ध गराउन सरकारमाथि दबाब सिर्जना गर्ने।

८) जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरूलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने ।

९) आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै स्थानीय तहमा जय नेपाल पार्टीको तर्फबाट उम्मेदवार बन्न इच्छुक योग्य र लोकप्रिय नागरिकहरूलाई सार्वजनिक आह्वान गर्ने।

१०) जय नेपाल पार्टीका नीति, विचार र लक्ष्यलाई मध्यनजर गर्दै स्थिर र समुन्नत नेपाल निर्माणको मार्गचित्र निर्माण गर्न एक कार्यदल गठन गर्ने र सो प्रक्रियामा स्वदेश तथा विदेशमा रहेका विभिन्न विषयगत विज्ञ नेपालीहरूको सहयोग तथा परामर्श लिने।