काठमाडौं-सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीनकुमार आचार्यले बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बैठक बोलाएका हुन्।
आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूची तय गरिएको छ।
बैठकको प्रमुख कार्यसूचीमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने विषय रहेको छ। रास्वपाले स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा अपनाउने विधि र प्रक्रियालाई बैठकमार्फत अन्तिम रूप दिने तयारी गरेको छ।
यस्तै, पार्टीले उठाउँदै आएको ‘राइट टु रिकल’ अर्थात् जनप्रतिनिधिलाई फिर्ता बोलाउन सकिने अधिकारसम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा पनि छलफल हुनेछ। उक्त विषयलाई कार्यान्वयनमा लैजान आवश्यक कानुनी तथा राजनीतिक खाका तयार पार्ने पार्टीको तयारी छ।
बैठकमा पार्टीको सांगठनिक व्यवस्थापन तथा विभिन्न पदमा मनोनयनसम्बन्धी विषयमा पनि छलफल हुनेछ। केन्द्रीय समिति सदस्य, पदाधिकारी तथा सचिवालय सदस्यको मनोनयन, विभिन्न विभागीय प्रमुखको मनोनयन तथा जिम्मेवारी बाँडफाँटलगायत विषय कार्यसूचीमा छन्।
त्यस्तै, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा सदस्य मनोनयन सम्बन्धमा पनि बैठकले निर्णय गर्नेछ।
स्थानीय तहमा उम्मेदवार छनोटको विधि र प्रक्रियाबारे पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी गराउन केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यको नेतृत्वमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ।
यसैगरी, पार्टीको आधिकारिक धारणा, गतिविधि तथा विचार सार्वजनिक गर्ने उद्देश्यले ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने महामन्त्री आचार्यले बताएका छन्।
स्थानीय निर्वाचनको तयारीसँगै सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउने विषयमा केन्द्रित हुने भएकाले आजको बैठकलाई रास्वपाले महत्वपूर्ण रूपमा लिएको छ।


प्रतिक्रिया