काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा आगामी स्थानीय तह निर्वाचनको तयारी, पार्टीको संगठनात्मक सुदृढीकरण तथा विभिन्न पदहरूमा मनोनयनलगायतका विषयमा छलफल भइरहेको छ।
बैठकको प्रारम्भमा महामन्त्री विपिन आचार्यले कार्यसूची प्रस्तुत गरेका छन्। २०८३ असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि २०८३ साउन १४ गते पहिलो बैठक बसेको थियो।
बैठकको मुख्य एजेन्डामा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा–२०८३ अनुमोदन गर्ने विषय रहेको छ। पार्टीले उम्मेदवार छनोटको विधि, प्रक्रिया र मापदण्डलाई अन्तिम रूप दिने तयारी गरेको छ। साथै, ‘राइट टु रिकल’ (जनप्रतिनिधिलाई फिर्ता बोलाउन पाउने अधिकार) सम्बन्धी दस्तावेज तयार गर्ने विषय पनि कार्यसूचीमा समावेश गरिएको छ।
यस्तै, पार्टीका रिक्त तथा थप गर्नुपर्ने विभिन्न संगठनात्मक पदहरूमा मनोनयन गर्ने तयारी गरिएको छ। केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँट, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन र सदस्य मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुनेछन्। रास्वपा विधानअनुसार सभापति रवि लामिछानेले मनोनित गरेका नामहरू केन्द्रीय समितिबाट अनुमोदन गरिने व्यवस्था छ।
बैठकमा देशव्यापी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावमाथि पनि छलफल भइरहेको छ। स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको विधि र पार्टीको नीति–दिशाबारे कार्यकर्तालाई जानकारी गराउन केन्द्रीय सदस्य र सांसदहरूको नेतृत्वमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने योजना पार्टीले बनाएको छ।
त्यस्तै, पार्टीका आधिकारिक धारणा, गतिविधि तथा नीति सार्वजनिक गर्न ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्ताव पनि बैठकको कार्यसूचीमा रहेको छ।
गत साउन १३ गतेको बैठकले प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेतामा मनोनित गरेको थियो। तर, शुक्रबारको बैठकमा उनी सहभागी छैनन्। शाह स्थलमार्ग हुँदै पोखरा र त्यसपछि मुस्ताङ जाने कार्यक्रमका कारण अनुपस्थित रहेको जनाइएको छ। यद्यपि उनका राजनीतिक सल्लाहकार तथा रास्वपाका सहमहामन्त्री असिम शाह भने बैठकमा सहभागी छन्।


प्रतिक्रिया