काठमाडौं–नेकपा (एमाले) का सचिव तथा बाग्मती प्रदेश इन्चार्ज महेश बस्नेतले पार्टीभित्र नेतृत्वको विरोधभन्दा पनि संगठन सुदृढीकरण र पुनर्संरचनामा केन्द्रित हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले भीम रावल, घनश्याम भुसाल र माधव नेपालको राजनीतिक यात्राले नेतृत्वको विरोध मात्र गरेर राजनीतिक शक्ति निर्माण गर्न नसकिने तथ्य पुष्टि गरेको दाबी गरेका छन्। पार्टीबाट बाहिरिएपछि उनीहरूको राजनीतिक प्रभाव झन् कमजोर बनेको उनको भनाइ छ।
सचिव बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित नेतृत्व भएको उल्लेख गर्दै महाधिवेशन सम्पन्न भएको छोटो समयमै नेतृत्वविरुद्ध मोर्चाबन्दी गर्नु लोकतान्त्रिक विधि र संस्थागत प्रक्रियामाथिको प्रहार हुने बताएका छन्। सचिव बस्नेतले हिजो महाधिवेशनमा ओलीकै समूहमा पर्न प्रतिस्पर्धा गर्ने केही नेताहरू अहिले बाँकी कार्यकाल नसकिँदै नेतृत्व परिवर्तनको बहसमा लागेको आरोप लगाए।
सचिव बस्नेतले भनेका छन्, ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली महाधिवेशनबाट निर्वाचित अध्यक्ष हुनुहुन्छ, कसैले टीका लगाएर बनाएको होइन। हिजो महाधिवेशनमा उहाँकै टिममा पर्न तँछाडमछाड गर्ने केही साथीहरू आज महाधिवेशन सम्पन्न भएको ६ महिना पनि नपुग्दै बाँकी कार्यकाल नसकिँदै नेतृत्वविरुद्ध मोर्चाबन्दीमा लाग्नु लोकतान्त्रिक विधि र संस्थागत प्रक्रियामाथिको प्रहार हो।’
सचिव बस्नेतले अहिलेको आवश्यकता व्यक्ति परिवर्तन नभई पार्टीको समग्र पुनर्संरचना, नीति, संगठन, कार्यशैली र जनसम्बन्धमा सुधार रहेको बताए। सचिव बस्नेत भन्छन्, ‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन; पार्टीको नीति, संगठन, कार्यशैली र जनसम्बन्धमा सुधार आवश्यक छ।’ उनले एमालेभित्र फैलाइएका भ्रम चिर्न, पार्टीलाई थप एकताबद्ध बनाउन र सरकारका गलत कदमविरुद्ध खबरदारी गर्नुपर्नेमा जोड दिए।
सचिव बस्नेतले नेतृत्व परिवर्तनको समय आएमा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार सम्मानजनक रूपमा नेतृत्व हस्तान्तरण गर्न सकिने उल्लेख गर्दै हालका लागि धैर्य, एकता र संगठन सुदृढीकरण नै प्रमुख आवश्यकता रहेको बताए।


प्रतिक्रिया