अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा-खड्का पुगे सर्वोच्च

१५औँ महाधिवेशन रोक्न माग गर्दै देउवा-खड्का पुगे सर्वोच्च


काठमाडौं-नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर विवाद चर्किएका बेला निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि पेश गरेका छन्।

संस्थापन पक्षले अन्य समूहसँग पर्याप्त परामर्श र सहमति नगरी एकपक्षीय रूपमा महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको भन्दै देउवा र खड्का अदालत पुगेका हुन्। देउवाका तर्फबाट वारेसका रूपमा कांग्रेस नेता दीपक खड्का तथा पूर्णबहादुर खड्काका तर्फबाट अधिवक्ता श्रवणकुमार सर्वोच्च अदालत पुगेका छन्।

कांग्रेसको इतर समूहका प्रचारप्रसार समितिका संयोजक मीन विश्वकर्माले रिट सर्वोच्चमा पेश भइसकेको जानकारी दिएका छन्। निवेदनमा हालै सार्वजनिक गरिएको महाधिवेशन प्रक्रिया तथा कार्यतालिका बदर गरी रोक्न ‘उत्प्रेषणको आदेश’ जारी गर्न माग गरिएको छ।

संस्थापन पक्षले भदौ २४ गतेबाट वडा अधिवेशन सुरु गरी असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। उक्त कार्यतालिका पार्टीभित्र आवश्यक सहमति र संवादबिनै सार्वजनिक गरिएको आरोप देउवा तथा डा. शेखर कोइराला समूहले लगाउँदै आएका छन्।

यसैबीच, रिट दर्ताको प्रक्रियासँगै शुक्रबार बिहान देउवा र नेता डा. शेखर कोइरालाबीच चुनदेवीस्थित देउवा निवासमा भेटवार्ता भएको थियो। कांग्रेसभित्रको पछिल्लो राजनीतिक अवस्था, महाधिवेशन प्रक्रिया र आगामी रणनीतिबारे दुई नेताबीच छलफल भएको स्रोतले जनाएको छ।

यसअघि सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा पुनरावलोकनको आदेश दिएको थियो। सोही पृष्ठभूमिमा सार्वजनिक गरिएको महाधिवेशन कार्यतालिकालाई लिएर पार्टीभित्र विवाद थप गहिरिएको छ।