काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय नेतृत्वमा नयाँ जिम्मेवारी बाँडफाँट गर्दै प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादवलाई सहमहामन्त्रीमा मनोनीत गरेको छ।
शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले यादवलाई सहमहामन्त्रीमा मनोनयन गरेका हुन्। रास्वपाले संगठन सुदृढीकरण तथा पार्टी गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले यादवलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।
यस्तै, रास्वपाले जगदीश खरेललाई पार्टीको प्रवक्तामा मनोनीत गरेको छ। जेन–जी आन्दोलनपछि बनेको नागरिक सरकारमा सञ्चारमन्त्री बनेका खरेल त्यसपछि रास्वपा प्रवेश गरेका थिए। २१ फागुनमा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेका खरेललाई अब पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने जिम्मेवारी दिइएको हो।
बैठकले कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहमहामन्त्रीमा पुरुषोत्तम यादव तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ।
त्यसैगरी संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अर्थ विभाग प्रमुखमा लिमा अधिकारी, सार्वजनिक सेवा तथा जनगुनासो विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा. तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी तथा अन्तर्राष्ट्रिय तथा कूटनीति विभाग प्रमुखमा शिशिर खनाललाई जिम्मेवारी प्रदान गरिएको छ।
बैठकले केही नेताहरूलाई केन्द्रीय सदस्यसमेत मनोनीत गरेको छ। केन्द्रीय सदस्यमा सुधन गुरुङ, भूपदेव शाह, सुनील लम्साल, प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, मनोहर प्रधान, सुरेन्द्र चौधरी र भक्तबहादुर राई मनोनीत भएका छन्।
रास्वपाले पछिल्लो समय संगठन विस्तार, पार्टी संरचना सुदृढीकरण तथा आगामी राजनीतिक कार्यक्रमलाई केन्द्रमा राखेर विभिन्न तहमा जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको छ।


प्रतिक्रिया