काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका रिक्त विभिन्न पदाधिकारी पदमा मनोनयन गर्दै पदपूर्ति गरेको छ। शुक्रबार बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले प्रवक्ता, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सहमहामन्त्री तथा सहप्रवक्तालगायत पदमा नयाँ जिम्मेवारी तोकेको हो।
बैठकले प्रवक्तामा पूर्वसञ्चारमन्त्री जगदीश खरेल, कोषाध्यक्षमा डा. मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, सहमहामन्त्रीमा प्रतिनिधिसभा सदस्य पुरुषोत्तम यादव तथा सहप्रवक्तामा ननिता यादव र सुरेन्द्र चौधरीलाई मनोनीत गरेको छ। यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी प्रमोद न्यौपानेलाई दिइएको छ।
सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय समितिले उक्त मनोनयन अनुमोदन गरेको हो। मनोनीत सबै पदाधिकारी पार्टीको संस्थापन पक्षबाट चयन भएका बताइएको छ।
यद्यपि पार्टीमा अझै एक उपसभापति, एक महामन्त्री र एक सहमहामन्त्री पद रिक्त रहेको छ। स्रोतका अनुसार ती पदमा सहमति जुट्न बाँकी रहेकाले हाललाई रिक्त राखिएको हो।
रास्वपाले आगामी दिनमा बाँकी पदाधिकारीको समेत टुंगो लगाउँदै संगठनलाई थप सुदृढ बनाउने तयारी गरेको जनाएको छ।


प्रतिक्रिया