काठमाडौं-नेकपा एमालेकी नेतृ तथा राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले पार्टी पुनर्गठनको बहसलाई लिएर नेतृत्व र संगठनात्मक संरचनामाथि गम्भीर प्रश्न उठाएकी छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् धारणा सार्वजनिक गर्दै नेतृ झाँक्रीले पार्टी पुनर्गठनको वास्तविक अर्थ र उद्देश्यबारे स्पष्ट बहस हुनुपर्ने बताएकी हुन्।
उनले ‘पार्टी पुनर्गठन भनेको आखिर के हो ?’ भन्ने प्रश्न गर्दै केवल नेतृत्वको अनुहार परिवर्तनलाई मात्रै पुनर्गठन मान्न नसकिने उल्लेख गरेकी छन्।
नेतृ झाँक्रीले यदि पुनर्गठनको अर्थ एक जना अध्यक्ष हटाउने तर पुरानै संरचना, पुरानै कार्यशैली, पुरानै अनुहार र पुरानै शक्ति सम्बन्धलाई यथावत् राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न उठाएकी छन्। उनका अनुसार केवल व्यक्ति परिवर्तनले पार्टीको भित्री संरचना र कार्यशैलीमा अपेक्षित सुधार आउन सक्दैन।
त्यसैगरी उनले एमालेभित्र आन्तरिक लोकतन्त्रको विषयमा पनि प्रश्न उठाएकी छन्। ‘अझ रोचक कुरा के छ भने जेनजी आन्दोलन हुनुभन्दा दुई दिनअघि भएको एमालेको विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको प्रश्न किन उठेन ?’ भन्दै उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यास र बहसबारे समेत चासो व्यक्त गरेकी छन्।
नेतृ झाँक्रीका यी अभिव्यक्तिलाई एमालेभित्र पछिल्लो समय चलिरहेको पुनर्गठन र नेतृत्व परिवर्तनसम्बन्धी बहससँग जोडेर हेरिएको छ।


प्रतिक्रिया