अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित

रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित


काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको छ। भदौ पहिलो सातादेखि हुने भनिएको भ्रमण अन्तिम समयमा रोकिएको हो।

उच्च स्रोतका अनुसार सभापति लामिछानेको चीन भ्रमण यसअघि अगस्ट दोस्रो साताका लागि तय गरिएको थियो। पछि उक्त भ्रमणलाई एक महिना पर सारिएको भए पनि सेप्टेम्बर दोस्रो सातामा समेत भ्रमण नहुने निश्चित भएको छ। अब सांसदहरूको टोली मात्र चीन जाने कार्यक्रम रहेको बताइएको छ।

यसअघि सभापति लामिछाने २०८३ भदौ ७ देखि १४ गते (अगस्ट २३ देखि ३०) सम्म चीन भ्रमणमा जाने तयारीमा थिए। उनले पत्नी निकिता पौडेलसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने तथा बेइजिङपछि तिब्बतस्थित कैलाश मानसरोवरसम्म पुग्ने प्रारम्भिक तालिका बनाइएको थियो।

स्रोतका अनुसार चीनका राष्ट्रपति सी चिनफिङसँग भेटघाटको कार्यक्रम नबन्नु र देशभित्रको राजनीतिक तथा समसामयिक परिस्थितिमा आएको परिवर्तनका कारण भ्रमण तत्कालका लागि स्थगित गरिएको हो। यद्यपि भ्रमण पूर्ण रूपमा रद्द नभएको र उपयुक्त मिति तय भएपछि लामिछाने चीन जाने सम्भावना रहेको बताइएको छ।

भारत भ्रमणपछि चीन जाने तयारी गरेका लामिछानेको भ्रमण कहिले हुने भन्नेबारे हालसम्म कुनै निश्चित मिति तय भएको छैन। रास्वपाका एक नेताले भने, ‘भ्रमण रद्द भएको होइन, तर सभापति कहिले चीन जानुहुन्छ भन्ने अहिले नै निश्चित छैन।’

यसबीच विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन पाँच सदस्यीय नेपाली संसदीय टोली भदौ ८ गते चीन जाने कार्यक्रम रहेको छ। प्रतिनिधिसभा सदस्य कमल सुवेदीको नेतृत्वमा राष्ट्रियसभा सदस्य झक्कु सुवेदी, किरणबाबु श्रेष्ठ, प्रतिनिधिसभा सदस्य यज्ञबहादुर बोगटी र संघीय संसद्का उपसचिव शारदा भण्डारी उक्त टोलीमा सहभागी हुनेछन्।

उता रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले भने निकट भविष्यमै भारत भ्रमणमा जाने तयारीमा रहेका छन्। सरकारी स्रोतका अनुसार भारतमा उनको उच्च तहमा भेटवार्ताको कार्यक्रम रहनेछ।