काठमाडौं-नेकपा (एमाले)का सचिव महेश बस्नेतले एमालेभित्र पार्टी पुनर्गठनको नाममा अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाउने विषयमा फैलाइएको चर्चा निराधार रहेको बताएका छन्।
भदौ ७ गते आइतबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै सचिव बस्नेतले एमाले अध्यक्ष ओली र महासचिव शंकर पोखरेलको भनाइ उद्धृत गर्दै पार्टीभित्र नेतृत्व परिवर्तनको हल्ला तथ्यहीन रहेको दाबी गरेका हुन्। उनले अध्यक्ष ओलीलाई हटाउने विषयमा फैलाइएको प्रचार पार्टीभित्रको वास्तविक अवस्था नभई भ्रम सिर्जना गर्ने प्रयास भएको बताएका छन्।
सचिव बस्नेतले अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै ‘एमालेमा अध्यक्ष हटाउने हल्ला बलेसीबाट खसेको पानीको फोकाजस्तै क्षणिक र निराधार हो’ भनेका छन्। त्यस्तै, विराटनगरमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले अध्यक्ष ओलीलाई फेर्ने विषयमा फैलाइएको हल्ला निराधार रहेको स्पष्ट पारेको सचिव बस्नेतले उल्लेख गरेका छन्।
महासचिव शंकर पोखरेलले विराटनगरमा अध्यक्ष ओलीलाई फेर्ने भनी फैलाइएका प्रचारबाजी पार्टीको एकता, अनुशासन र संगठनलाई कमजोर बनाउने नियतले फैलाइएको भ्रम मात्र भएको स्पष्ट पारेको सचिव बस्नेतले बताएका छन्।
सचिव बस्नेतले पार्टी पुनर्गठनको नाममा अध्यक्ष परिवर्तन गरिने भन्ने चर्चा अब समाप्त भएको दाबी गरेका छन्। उनले वर्तमान चुनौतीहरूको सामना गर्दै एमालेलाई थप एकताबद्ध बनाइने र वर्तमान ‘जनविरोधी बालेन सरकार’विरुद्ध आन्दोलन सुरु गरिने बताएका छन्। ‘आजका चुनौतीहरूको सामना गर्दै पार्टीलाई एकताबद्ध बनाउँदै वर्तमान जनविरोधी बालेन सरकारविरुद्ध आन्दोलन सुरू गरिनेछ।’



प्रतिक्रिया