काठमाडौं-काठमाडौं महानगरपालिका-३१ शंखमुलस्थित भ्याली ब्वाइज होस्टेलमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा बारा कलैया उपमहानगरपालिका–३ घर भई उक्त होस्टेलमा बस्दै आएका १९ वर्षीय प्रमित पटेल र महोत्तरी लोहरपट्टी नगरपालिका–६ घर भएका २३ वर्षीय होस्टेल सञ्चालक आलोक ठाकुर रहेका छन्। पटेललाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको समन्वयमा भैँसेबाट तथा ठाकुरलाई काठमाडौंको बुद्धनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसअघि घटनामा संलग्न रहेको आरोपमा सोही होस्टेलमा बस्ने बारा कलैया उपमहानगरपालिका–३ का १९ वर्षीय शेखर यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। घटनासँग सम्बन्धित तीन जनामाथि अहिले अनुसन्धान भइरहेको छ।
प्रहरीका अनुसार गत शुक्रबार बिहान करिब १० बजे होस्टेलको कोठा नम्बर १०९ मा बस्दै आएका २२ वर्षीय बसन्त कालाथोकी धारिलो हतियार प्रहारबाट गम्भीर घाइते अवस्थामा होस्टेलको बाहिरी प्यासेजमा फेला परेका थिए। उनलाई तत्काल उपचारका लागि निजामती कर्मचारी अस्पताल, मिनभवन लगिएको भए पनि उपचारकै क्रममा शुक्रबार दिउँसो १२ बजे मृत्यु भएको थियो।
घटनामा संलग्न रहेको आशंकामा पक्राउ परेका तीनै जनामाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।


प्रतिक्रिया