मकवानपुर-बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठक मंगलबार दिउँसो ४ बजे बस्ने भएको छ।
यसअघि सोमबार तीन पटकसम्म बैठक स्थगित गरिए पनि निर्धारित समयमा बस्न नसकेपछि बैठक मंगलबार दिउँसो ४ बजेका लागि सारिएको हो।
प्रदेशसभा सचिव रामकुमार पौडेलले जारी गरेको सूचनाअनुसार प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखले बैठकको समय परिवर्तन गरेका हुन्।
मुख्यमन्त्री थापामगरले संविधानमा भएको व्यवस्थाअनुसार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन्। तर, उनको नियुक्तिलाई लिएर नेपाली कांग्रेसले प्रश्न उठाउँदै आएको छ। त्यस्तै, सत्ता साझेदार दलहरूबीच मन्त्रालय बाँडफाँट, मन्त्री छनोट तथा शक्ति बाँडफाँटका विषयमा समेत असन्तुष्टि देखिएको छ।
यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाली कांग्रेसले मुख्यमन्त्री थापामगरलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्विप जारी गरेका छन्। सत्ता गठबन्धनभित्रकै केही सांसदसमेत असन्तुष्ट देखिएपछि मुख्यमन्त्रीले विश्वासको मत पाउने वा नपाउने विषयमा राजनीतिक चासो बढेको छ।
मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन्। त्यसपछि प्रस्तावमाथि प्रदेशसभामा मतदान हुने कार्यसूची रहेको छ।



प्रतिक्रिया