काठमाडौँ-तिब्बतबाट आएको भोटेकोशी नदीमा आएको भीषण बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै बाढी सतर्कता केन्द्रले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान शाखाले भोटेकोशी र त्रिशूली नदीको बहावका कारण जोखिम बढेको भन्दै पृथ्वी राजमार्गसहित नदी आसपासका करिडोर सडक बन्द गरी आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ।
भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा ठूलो क्षति पुगेको जनाइएको छ। बाढीको प्रभाव थप तलतर्फ बढ्दै जाँदा त्यसको सघन असर मुग्लिङसम्म पर्न सक्ने शाखाले जनाएको छ।
त्रिशूली नदीसँग जोडिएका सबै तटीय क्षेत्र जोखिममा रहेकाले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन तथा नदी किनारमा नजान आग्रह गरिएको छ।
बाढीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायत त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ। सडक तथा नदी आसपासमा अनावश्यक आवागमन नगर्न र सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया