काठमाडौँ-रसुवामा बुधबार बिहान आएको भीषण बाढीका कारण रसुवा भन्सार कार्यालयसँग सम्पर्कविच्छेद भएको छ। भन्सार विभागका प्रवक्ता किशोर बर्तौलाका अनुसार कार्यालयसँग अहिलेसम्म प्रत्यक्ष सम्पर्क हुन सकेको छैन।
बाढीका कारण रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरणहरू सार्वजनिक भएका छन्। रसुवागढी भन्सार संरचनामा समेत बाढीले ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी आएको छ।
प्रवक्ता बर्तौलाले भन्सार कार्यालयमा कार्यरत १३ भन्दा बढी कर्मचारी सकुशल रहेको जानकारी प्राप्त भए पनि कार्यालयको भौतिक अवस्थाबारे भने यकिन विवरण प्राप्त हुन नसकेको बताए।
‘हामी भन्सार कार्यालयको अवस्थाका विषयमा जानकारी लिने कोशिस गरिरहेका छौँ । महानिर्देशकज्यू विपद् प्राधिकरणको बैठकमा जानुभएको छ । त्यहाँबाट केही विषय जानकारीमा आउला,’ उनले भने।
रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढी प्रवेश गरेपछि टिमुरे र आसपासका क्षेत्रमा क्षति पुगेको हो। स्थानीय प्रशासनका अनुसार बाढीका कारण सडक, पुल तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। बाढीको बहाव तल्लो तटीय क्षेत्रमा समेत बढेकाले रसुवा, नुवाकोट, धादिङ हुँदै त्रिशूली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीको वास्तविक क्षति तथा भन्सार कार्यालयको अवस्थाबारे थप विवरण संकलन गर्ने प्रयास भइरहेको भन्सार विभागले जनाएको छ।


प्रतिक्रिया