अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन, काठमाडौँका हब अस्पताल उच्च सतर्क अवस्थामा

प्रभावित क्षेत्रमा चिकित्सक टोली परिचालन, काठमाडौँका हब अस्पताल उच्च सतर्क अवस्थामा


काठमाडौं । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि सम्भावित मानवीय क्षति र स्वास्थ्य संकटलाई ध्यानमा राख्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो स्वास्थ्य आपतकालीन प्रणाली पूर्ण रूपमा सक्रिय गरेको छ। मन्त्रालयले प्रभावित क्षेत्रमा उद्धार, उपचार तथा स्वास्थ्य व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्च सतर्कता अपनाएको जनाएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बाढीको सूचना प्राप्त भएलगत्तै मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर) सक्रिय पारिएको छ। प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने अस्पतालहरूसँगको समन्वयलाई तीव्र बनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउन राष्ट्रिय ट्रमा सेन्टरका ६ जना चिकित्सक सम्मिलित इमर्जेन्सी मेडिकल टिम गठन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पठाइसकिएको मन्त्रालयले जनाएको छ। उक्त टोलीलाई हवाई मार्गमार्फत रसुवातर्फ पठाउने तयारी भइरहेको छ।

हालसम्म उद्धार गरिएका दुई जना घाइतेको रसुवाको धुन्चेस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ। साथै त्रिशूली अस्पताल, रसुवा अस्पताल, धुन्चे अस्पताल तथा आसपासका स्वास्थ्य संस्थालाई पनि उपचार र समन्वयका लागि अलर्ट अवस्थामा राखिएको छ। स्थानीय स्तरमा प्राथमिक उपचार तथा बिरामीको अवस्था वर्गीकरण (ट्रायज) गरी आवश्यक परे गम्भीर बिरामीलाई माथिल्लो तहका अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

संभावित गम्भीर घाइतेहरूको उपचारका लागि काठमाडौं उपत्यकाका प्रमुख अस्पतालहरूलाई पनि तयारी अवस्थामा राखिएको छ। वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र पाटन अस्पतालका आकस्मिक सेवा विभागलाई पूर्ण रूपमा तयारी अवस्थामा राखिएको छ। साथै उपत्यकाका अन्य हब अस्पताल, निजी अस्पताल तथा मेडिकल कलेजहरूलाई समेत जुनसुकै बेला सेवा दिन सक्ने गरी ‘स्ट्यान्डबाइ’मा राखिएको छ।

प्रवक्ता डा. अधिकारीका अनुसार मन्त्रालयले पूर्वनिर्धारित विपद् व्यवस्थापन कार्ययोजनाअनुसार हब–स्याटेलाइट अस्पताल प्रणालीलाई सक्रिय गरेको छ। स्थानीय अस्पतालबाट उपचार सम्भव नभएका बिरामीलाई हब अस्पतालमा रिफर गरी थप उपचार गरिने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ।

मन्त्रालयले प्रभावित क्षेत्रका अस्पतालहरूसँग निरन्तर सम्पर्क र समन्वय कायम राख्दै उद्धार गरिएका घाइतेहरूको शीघ्र उपचार सुनिश्चित गर्ने जनाएको छ। हालसम्म काठमाडौंमा ल्याइएका गम्भीर घाइतेको यकिन विवरण प्राप्त नभएको भए पनि घाइते तथा प्रभावितको विवरण संकलन र अद्यावधिक गर्ने काम जारी रहेको मन्त्रालयले जनाएको छ।

‘अहिलेसम्म प्राप्त विवरण पूर्ण रूपमा अद्यावधिक भइसकेको छैन। थप जानकारी प्राप्त भएपछि सार्वजनिक गरिनेछ,’ प्रवक्ता अधिकारीले बताएका छन्।