अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवाबाट आएको बाढीको कहर: नुवाकोट–धादिङ जोड्ने पक्की पुल बग्यो

रसुवाबाट आएको बाढीको कहर: नुवाकोट–धादिङ जोड्ने पक्की पुल बग्यो


काठमाडौँ-चीनतर्फबाट रसुवा हुँदै आएको विनाशकारी बाढीले त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीले नुवाकोटको बेलकोटगढी नगरपालिका स्थित केउरीनी र धादिङको गल्छी गाउँपालिका–१ फोस्रेटार जोड्ने पक्की पुल बगाएको छ। बाढीका कारण सो क्षेत्रमा रहेका झोलुङ्गे पुलहरूमा समेत क्षति पुगेको छ भने स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ।

बाढीले बगाएको उक्त पुल १९२ मिटर लामो थियो। २०७१ सालमा ठेक्का सम्झौता भएको पुल विभिन्न प्राविधिक तथा प्रशासनिक कारणले ढिलो निर्माण भए पनि २०७८ सालमा सम्पन्न गरिएको थियो। सपना हिम्डुङ एण्ड थोकर तथा नागार्जुन कन्स्ट्रक्सन जेभीले करिब १५ करोड ११ लाख रुपैयाँ लागतमा पुल निर्माण गरेको थियो। स्थानीयवासीका लागि त्रिशूली नदी वारपार गर्ने मुख्य संरचनाका रूपमा रहेको यो पुल केही वर्षमै बाढीले बगाएपछि ठूलो क्षति भएको छ।

पुल बगिएसँगै नुवाकोट र धादिङका विभिन्न बस्तीबीचको प्रत्यक्ष सडक सम्पर्क विच्छेद भएको छ। दैनिक आवतजावत, कृषि उत्पादन ढुवानी, व्यापारिक गतिविधि तथा विद्यार्थीहरूको विद्यालय आवागमनमा समेत समस्या उत्पन्न भएको स्थानीयले बताएका छन्। बाढीपछि नदी किनारका बस्तीहरू त्रासमा रहेका छन् भने थप क्षति हुन सक्ने भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।

स्थानीय बासिन्दाले राज्यले ठूलो लगानी गरेर निर्माण गरेको पुल केही वर्षमै बाढीले बगाएको घटनाले आफूहरू निराश र चिन्तित बनेको बताएका छन्। उनीहरूले तत्काल वैकल्पिक आवतजावतको व्यवस्था गर्न तथा दीर्घकालीन रूपमा सुरक्षित र मजबुत पुल निर्माणका लागि सरकारसँग माग गरेका छन्।

बाढीका कारण त्रिशूली नदी आसपासका अन्य भौतिक संरचना, सडक र नदी किनारका क्षेत्रमा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। सम्बन्धित निकायले क्षतिको विस्तृत विवरण संकलन तथा जोखिम मूल्याङ्कनको काम अघि बढाइरहेका छन्।