अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रसुवा बाढीमा ६ स्वास्थ्यकर्मी बेपत्ता, उद्धार तथा खोजी कार्य जारी

रसुवा बाढीमा ६ स्वास्थ्यकर्मी बेपत्ता, उद्धार तथा खोजी कार्य जारी


काठमाडौँ-रसुवामा आएको भीषण बाढीमा परी ६ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन्।

जिल्ला जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरध्वज घर्ती मगरका अनुसार उत्तरगया गाउँपालिका र गोसाईंकुण्ड गाउँपालिकामा कार्यरत ६ जना स्वास्थ्यकर्मी बाढीपछि सम्पर्कमा आएका छैनन्।

घर्ती मगरका अनुसार उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखसमेत सम्पर्कविहीन छन्। गोसाईंकुण्ड गाउँपालिकाअन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरू पनि बाढीपछि बेपत्ता भएका छन्।

‘उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सम्पर्कविहीन हुनुहुन्छ। यस्तै, गोसाईंकुण्ड गाउँपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरू बेपत्ता हुनुभएको छ,’ घर्ती मगरले भने।

भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको स्याफ्रुबेसीदेखि तलका नदी किनारका बस्ती तथा भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन्। नेपाली सेनाले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रबाट मानिसहरूको उद्धार गरिरहेको छ।

बाढीपछि घाइतेहरूको उपचारका लागि रसुवा अस्पतालमा समेत चाप बढेको छ। अस्पतालका अनुसार बाढीमा परी घाइते भएका २४ जना उपचारका लागि पुगेका छन्। तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि अन्य अस्पतालमा रेफर गरिएको छ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका टोलीसमेत परिचालन भएका छन्। नेपाल प्रहरी अस्पतालबाट डा. छन्द बुढाथोकीको नेतृत्वमा ९ जनाको चिकित्सक टोली आवश्यक औषधि तथा स्वास्थ्य सामग्रीसहित रसुवातर्फ पठाइएको नेपाल प्रहरीले जनाएको छ।