काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १७७ पुगेको छ। हालसम्म १७७ जनाको शव फेला परेको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले जानकारी दिएका छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ।
बाढीपछि बगेर विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा शव फेला परिरहेका छन्। अहिलेसम्म सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्र धमलाका अनुसार चितवनमा मात्रै ५२ जनाको शव फेला परेको छ। बागमती प्रदेशका जिल्लाहरूमा हालसम्म कुल १०६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
बाढीको केन्द्रबिन्दु रहेको रसुवामा १६ जनाको शव फेला परेको छ भने नुवाकोटमा १७ र धादिङमा २१ जनाको शव भेटिएको छ। यसैगरी गण्डकी प्रदेशअन्तर्गत गोरखा र पूर्वी नवलपरासीका नदी किनारमा भेटिएका शवहरूको पहिचान गर्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको संयुक्त टोलीले बेपत्ता व्यक्तिको खोजी तथा शव पहिचानको काम तीव्र बनाएको छ। बाढीले रसुवादेखि चितवनसम्मका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ।


प्रतिक्रिया