रामेछाप-रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढीमा रोजगारी तथा विभिन्न कामका सिलसिलामा त्यहाँ पुगेका सिन्धुलीका ३६ जना नागरिक हालसम्म सम्पर्कविहीन रहेका छन्।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार सम्पर्कविहीन भएकाहरू रसुवाका विभिन्न जलविद्युत् आयोजना, सडक निर्माण तथा होटल व्यवसायमा कार्यरत थिए। बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको भन्दै आफन्तहरूले प्रहरी तथा स्थानीय प्रशासनमा जानकारी गराएका छन्।
सम्पर्कविहीन हुनेहरूमा कमलामाई नगरपालिका, फिक्कल गाउँपालिका, तिनपाटन गाउँपालिका, सुनकोशी गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका तथा दुधौली नगरपालिकाका बासिन्दा रहेका छन्। उनीहरूको अवस्था खुल्न नसकेपछि परिवारजनमा चिन्ता बढेको छ।
जिल्ला प्रशासन कार्यालयले सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि रसुवा प्रशासन र सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। बाढी प्रभावित क्षेत्रमा टेलिफोन तथा सञ्चार सेवा अवरुद्ध भएका कारण पनि धेरै व्यक्तिहरू सम्पर्कमा आउन नसकेको हुन सक्ने अनुमान गरिएको छ।
प्रशासनले आफन्तहरूलाई धैर्य धारण गर्न आग्रह गर्दै कुनै सूचना प्राप्त भएमा तत्काल जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।







प्रतिक्रिया