काठमाडौँ-रसुवा जिल्लामा बुधबार आएको विनाशकारी बाढीका कारण बेपत्ता हुने पर्यटकहरूको सङ्ख्या ६४४ पुगेको छ। नेपाल पर्यटन बोर्डले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार नेपालसहित विभिन्न देशका नागरिकहरू अझै सम्पर्कविहीन रहेका छन्।
बोर्डका अनुसार बेपत्ता हुनेहरूमा सबैभन्दा बढी भारतका १७८ जना रहेका छन्। त्यसपछि नेपालका १२७, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१ र अस्ट्रेलियाका ३५ जना पर्यटक बेपत्ता भएका छन्। अन्य विभिन्न देशका नागरिकहरू पनि बेपत्ताको सूचीमा समावेश छन्।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहे पनि ठूलो जनधनको क्षति भएको प्रारम्भिक विवरणहरूले देखाएका छन्। उद्धार टोलीहरू नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय स्वयंसेवकहरूको सहयोगमा बेपत्ता व्यक्तिहरूको खोजीमा खटिएका छन्।
नेपाल पर्यटन बोर्डले बेपत्ता पर्यटकहरूको पहिचान तथा अवस्थाबारे जानकारी सङ्कलन गर्ने कार्यलाई तीव्रता दिएको जनाएको छ। साथै प्रभावित क्षेत्रका पर्यटक तथा उनीहरूका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको बोर्डले जनाएको छ।




प्रतिक्रिया