काठमाडौं-रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५४७ पुगेको छ। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक तथ्यांकअनुसार बाढी प्रभावित तथा तल्लो तटीय विभिन्न जिल्लामा हालसम्म ५४७ जनाको शव फेला परेको हो।
प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। चितवनमा २२१, नवलपरासी (पूर्व)मा १३४, गोरखामा ४४, धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा २९, नवलपरासी (पश्चिम)मा २८ र रसुवामा १३ जनाको शव फेला परेको छ।

बाढी तथा पहिरोमा परी घाइते भएका १ हजार ४७३ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये रसुवामा मात्रै ५७२ र नुवाकोटमा ८९ जना रहेका छन्। धादिङमा तीन जनाको उद्धार गरिएको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा ९४ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारपछि केही घाइते डिस्चार्जसमेत भइसकेका छन्।
आपत्कालीन उद्धार, राहत तथा खोजी कार्यका लागि प्रभावित क्षेत्रमा ४ हजार ४७३ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ। बाढी तथा उद्धारका क्रममा २७ जना प्रहरी कर्मचारी सम्पर्कविहीन रहेको जनाइएको छ। तीमध्ये एक जना प्रहरी कर्मचारीको शव फेला परेको पुष्टि भएको छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा हेलिकोप्टर तथा पैदल टोलीमार्फत खोजी तथा उद्धार कार्य जारी राखेका छन्। बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावित परिवारलाई राहत वितरणलाई तीव्रता दिइएको सुरक्षा निकायले जनाएको छ।
विभिन्न जिल्लामा भेटिएका शवको विवरण:
- चितवन: २२१ जना
- नवलपरासी (पूर्व): १३४ जना
- गोरखा: ४४ जना
- धादिङ: ४० जना
- नुवाकोट: ३८ जना
- तनहुँ: २९ जना
- नवलपरासी (पश्चिम): २८ जना
- रसुवा: १३ जना


प्रतिक्रिया