अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध

बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग अवरुद्ध


काठमाडौँ-अविरल वर्षा र सम्भावित बाढी-पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको र केहीमा रात्रिकालीन आवागमनमा रोक लगाइएको जानकारी दिएको छ।

सुनकोशी नदीमा जलसतहले सतर्कता तह पार गरेसँगै बीपी राजमार्गमा विशेष सावधानी अपनाइएको छ। काभ्रेको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४:०० देखि साँझ ६:०० बजेसम्म भने परिस्थितिको विचार गरी सवारी सुचारु गरिने प्रहरीले जनाएको छ।

कान्ति लोकपथको हेटौँडा–ठिंगन–ललितपुर खण्डमा बाढी र पहिरोको जोखिमका कारण रातको समयमा (साँझ ५:०० देखि बिहान ५:०० बजेसम्म) सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

टोखा-छहरे सडकको शिवपुरी–८, घट्टेखोलामा जोखिम बढेकाले राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ।

मेची राजमार्गकाे इलाम नगरपालिका-९, राजदुवालीमा अविरल वर्षाका कारण झापा–ताप्लेजुङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, त्यहाँ वैकल्पिक बाटो प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।
रसुवाकाे उत्तरगया गाउँपालिका–५, खाल्टेमा बाढीका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ र यो लामो समयसम्म रहने देखिएको छ। रसुवाका मुख्य राजमार्गहरू साउन १० गतेदेखि नै बाढीका कारण प्रभावित रहेका छन्।

यसैबीच, जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन हुँदै पोखरा र काठमाडौँ जाने सवारी साधनहरू भने अहिले पूर्ण रूपमा सुचारु भएका छन्। रसुवा क्षेत्रमा बाढी आएको सूचनापछि केही समय रोकिएका सवारी साधनहरूलाई अहिले गन्तव्यतर्फ जान अनुमति दिइएको छ।