अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आयु सकियो, फेरि ‘झर्‍यो कृष्णभिर…’ [तस्वीरहरू]

आयु सकियो, फेरि ‘झर्‍यो कृष्णभिर…’ [तस्वीरहरू]


धादिङ-त्रिशूली नदीले सतहबाटै जमिन कटान गरेपछि धादिङको कृष्णभीरमा खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे खण्ड  अवरुद्ध छ। कृष्णभीरमा खसेको पहिरोले काठमाडौँ, धादिङ हुँदै चितवन, तनहुँ, कास्की, पश्चि नेपालका अन्य जिल्ला जाने र आउने सवारी साधन प्रभावित भएका छन्।

कृष्णभीरको पहिरो नयाँ भने होइन। २०५५/५६ सालतिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख पाउनुपर्ने अवस्था थियो। २०५० को दशकको अन्तिमतिर कृष्णभीरमा पहिरो खसेर आवतजावत गर्नेले करिब दुई सातासम्म सास्ती खपेका थिए। 

२०६० सालमा पहिरो नियन्त्रणको काम भयो। त्यतिबेला निर्मित पहिरो नियन्त्रण पर्खाल र संरचनाको आयु २० वर्ष निर्धारण गरिएको थियो । आयु सकिएपछि कृष्णभीरमा आवागमन पूरै ठप्प हुने गरेर पहिरो खसेको छ। पहिरो खसेकै ठाउँबाट फेरि सडक तत्काल बन्ने सम्भावना देखिँदैन।

कुनैबेला पृथ्वीराजमार्ग आवतजावत गर्नेलाई गन्तव्यसम्म पुगिँदैन कि भन्ने चिन्ता नै थियो। कृष्णभीरमा खसिरहने पहिरो यसैको कारण थियो। कतिसम्म भने त्यो समय कृष्णभीरको पहिरोलाई आधार बनाएर गीतसम्म बनेका थिए।

दिलीप रायमाझी र झरना थापा अभिनीत चलचित्र ‘इन्द्रेणी’मा ‘झर्‍यो, झर्‍यो, झर्‍यो कृष्णभीर…कृष्णभीर कटेसी छैन मनमा कुनै पिर’ भनेर तत्कालीन अवस्थालाई दर्साइएको थियो। २०६० मा प्रदर्शन भएको यो चलचित्रका लागि शम्भुजीत बास्कोटा र रमाना श्रेष्ठले गाएको गीत युट्युबमा भेटिन्छ।  

कृष्णभीरकै पहिरोलाई केन्द्रमा राखेर ‘कृष्णभीरको पहिरोले माया आउने बाटो छेकियो’ बोलको अर्को गीत पनि बनेको छ। कृष्ण देवकोटा, दुर्गा रायमाझी र सर्मिला गुरुङले यो गीत गाएका थिए। गायिका बीमाकुमारी दुरा र गायक मिलन लामाको स्वरमा ‘कृष्णभीरमा जाम’ बोलको गीत पनि छ।

यसरी कुनैबेला निकै चर्चा कमाएको कृष्णभीरमा फेरि समस्या बल्झिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै कृष्णभीरको सडक मर्मत गरेर भदौ महिनाभित्रै सञ्चालनमा ल्याइने दाबी गरेका छन्। तर, यहाँको भौगोलिक बनावट र अवस्थितिले कृष्णभीरको समस्या दर्घिकालीन हिसाबले गर्नुपर्ने देखिन्छ। कतिपय प्राविधिकले कृष्णभीरलाई छोडेर अर्को रूट बनाएर प्रयोग गर्नुपर्ने सुझाव पनि दिइरहेका छन्।

default
default
default
default
default
default