नुवाकोट-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटको विदुर नगरपालिका-पिपलटारमा बाढीबाट प्रभावित १८ परिवारलाई अस्थायी घरटहरा हस्तान्तरण गरेका छन्।
२०८३ भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारलाई आवासको व्यवस्था गर्ने उद्देश्यले एमालेको पहलमा निर्माण गरिएका घरटहरा अध्यक्ष ओलीले बुधबार हस्तान्तरण गरेका हुन्।
एमाले निकट मजदुर संगठन जिफन्टको नेतृत्वमा स्वयंसेवकहरूको सहभागितामा निर्माण गरिएका अस्थायी आवासको पहिलो चरणको काम सम्पन्न भएपछि पीडित परिवारलाई हस्तान्तरण गरिएको हो।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार निर्माण गरिएका १८ वटै अस्थायी आवासमा शौचालय, बिजुली र पानीलगायत आधारभूत सुविधाको समेत व्यवस्था गरिएको छ।
बाढीका कारण घरबार गुमाएका तथा प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले अस्थायी घरटहरा निर्माण अभियान सञ्चालन गरिएको हो। निर्माण अभियानमा जिफन्टका साथै विभिन्न स्वयंसेवकहरू सहभागी भएका थिए।
गत भदौ १० गते भोटेकोशीमा आएको बाढीले नुवाकोट, रसुवा र धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीबाट प्रभावित परिवारको पुनःस्थापना तथा जनजीवन सामान्य बनाउन विभिन्न तहबाट राहत र पुनर्निर्माणका प्रयास भइरहेका छन्।
















प्रतिक्रिया