अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणीको बाढीले नेपाल-भारत सीमा छुट्याउने सिमलको रुख बगायो

नारायणीको बाढीले नेपाल-भारत सीमा छुट्याउने सिमलको रुख बगायो


काठमाडौं-पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नेपाल-भारत सीमा छुट्याउन सांकेतिक रूपमा प्रयोग हुँदै आएको सिमलको रुख नारायणी नदीमा आएको बाढीले बगाएको छ। बुधबार राति आएको बाढीले सीमा चिह्नका रूपमा मानिँदै आएको उक्त रुख बगाएपछि स्थानीयवासीमा सीमा सुरक्षालाई लिएर चिन्ता बढेको छ।

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार बाढीले नेपाल-भारत सीमाको सांकेतिक आधारका रूपमा रहेको सिमलको रुख बगाएर लगेको हो। नारायणी नदीपारि रहेको सुस्ता क्षेत्रमा सीमा स्तम्भ नहुँदा लामो समयदेखि नेपाल र भारतबीच सीमा विवाद हुँदै आएको छ।

सुस्ता बचाउ अभियानका अध्यक्ष आदम खाँका अनुसार विवाद समाधानका लागि नेपाल र भारतका जिल्लास्तरीय सुरक्षा अधिकारी तथा स्थानीयवासीको सहभागितामा २०६५ सालदेखि उक्त सिमलको रुखलाई सांकेतिक सीमा चिह्नका रूपमा मानिँदै आएको थियो। तर, अहिले सो रुख नै बाढीले बगाएपछि सीमा निर्धारणको आधार कमजोर बनेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीले सीमा स्तम्भसमेत नभएको क्षेत्रमा सांकेतिक सीमा चिह्नसमेत नरहेकाले भविष्यमा सीमा विवाद थप जटिल बन्न सक्ने बताएका छन्। उनीहरूले सीमा सुरक्षाको विषयलाई गम्भीर रूपमा लिएर तत्काल आवश्यक पहल गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

यसैबीच, सुस्ता गाउँलाई नारायणी नदीको कटान र बाढीबाट जोगाउन सरकारले १३२ मिटर तटबन्ध निर्माणको काम अघि बढाएको थियो। तर भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले अवरोध गरेपछि निर्माण कार्य रोकिएको स्थानीयको भनाइ छ। बाढी पनि तटबन्ध निर्माण रोकिएको सोही क्षेत्रबाट गाउँमा प्रवेश गरेको बताइएको छ।

हाल सुस्ता क्षेत्रमा २२० घरधुरीका एक हजार ४५७ जना बसोबास गर्दै आएका छन्। बाढीले सांकेतिक सीमा चिह्न नै बगाएपछि यहाँका बासिन्दा बाढीको जोखिमसँगै सीमा सुरक्षाको विषयलाई लिएर थप चिन्तित बनेका छन्।