अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्रीलाई ऐन महरको सुझाव-भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवन बचाउन ध्यान दिनुस्

गृहमन्त्रीलाई ऐन महरको सुझाव-भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवन बचाउन ध्यान दिनुस्


काठमाडौँ-नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको उद्धारमा सम्पूर्ण शक्ति लगाउन आग्रह गरेका छन्।

बाढीपछि टनेलबाट उद्धार गरिएका व्यक्तिलाई सुरक्षाकर्मीले हेलिकोप्टरतर्फ लैजाँदै गर्दा गृहमन्त्रीले स्लाइन बोकेको भिडिओ सार्वजनिक भएको विषयप्रति लक्षित गर्दै महरले गृहमन्त्रीले उद्धारस्थलमा ‘स्टन्ट’ गर्नुभन्दा कमाण्ड र समन्वयमा ध्यान दिनुपर्ने बताएका हुन्।

‘गृहमन्त्रीज्यू! प्लिज तपाईं कमाण्ड सम्हाल्नुहोस्, समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस्,’ महरले भनेका छन्।

अझै अन्य टनेलमा नागरिक फसेका भए तत्काल उद्धार गर्न आवश्यक सबै स्रोत–साधन परिचालन गर्नुपर्ने उनको भनाइ छ। आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग लिन तथा आयोजनाका प्राविधिक र निर्माणकर्तासँग समन्वय गर्न पनि उनले आग्रह गरेका छन्।

उद्धारस्थलमा गृहमन्त्रीले आफैँ अक्सिजन सिलिण्डर बोक्नुभन्दा उद्धार अभियानको नेतृत्व गर्नुपर्ने महरले बताए।

‘तपाईंको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन। त्यो काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ,’ उनले भने।

टनेलभित्र फसेका नागरिकको जीवनरक्षाका लागि एक–एक सेकेन्ड महत्त्वपूर्ण रहेको भन्दै महरले तत्काल उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन्।