काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपत्तिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै क्षतिपूर्तिको माग गर्नुपर्ने बताएका छन्।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्न शुक्रबार नुवाकोट पुगेका ओलीले नेपालले वातावरणीय प्रदूषण र जलवायु संकट सिर्जना गर्न कुनै भूमिका नखेले पनि त्यसको सबैभन्दा ठूलो मार खेप्नुपरेको बताए। उनले जलवायु न्यायका लागि संयुक्त राष्ट्रसंघसहित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको आवाज अझ सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए।
‘जलवायुसम्बन्धी प्रश्न अत्यन्तै गम्भीर विषय हो। हामीले यसलाई संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय फोरममा उठाउँदै आएका छौं। अब विश्वको ध्यानाकर्षण गराउँदै जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूको पक्षमा क्षतिपूर्तिको विषयलाई पनि बलियो रूपमा उठाउनुपर्छ,’ ओलीले भने।
उनले वातावरणीय क्षति गराउने विकसित तथा उच्च कार्बन उत्सर्जन गर्ने राष्ट्रहरूले जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता मुलुकलाई क्षतिपूर्ति दिनुपर्ने धारणा व्यक्त गरे। ‘हामीले वातावरण बिगारेका छैनौं, तर क्षति हामीले बेहोर्नुपरेको छ। त्यसैले वातावरणीय संकट सिर्जना गर्न भूमिका खेल्ने देशहरूले यसको जिम्मेवारी लिनुपर्छ,’ उनले बताए।
ओलीले भोटेकोशी बाढीलाई जलवायु परिवर्तनका बढ्दो जोखिमको गम्भीर संकेतका रूपमा व्याख्या गर्दै यस्ता विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्य, जलवायु न्याय र आर्थिक सहयोग अपरिहार्य रहेको उल्लेख गरे। हालैको विपत्तिपछि नेपालमा जलवायु क्षतिपूर्ति र ‘लस एन्ड ड्यामेज’ को विषय थप चर्चामा आएको छ।


प्रतिक्रिया