काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेना जस्तो गरिमामय र राष्ट्रिय सुरक्षाको महत्वपूर्ण संस्था राजनीतिक विवादमा मुछिनु दुःखद् भएको बताएका छन्।
शुक्रबार रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली सेना सधैं निष्कलङ्कित, विश्वसनीय र विवादरहित रहनुपर्नेमा जोड दिए। अध्यक्ष ओलीले नेपाली सेना जनताको आशा र भरोसाको केन्द्र भएकाले आफ्नो मर्यादा र सीमाभित्र रहेर कार्य गर्नुपर्ने बताए।
विपद् व्यवस्थापनका विषयमा बोल्दै ओलीले राहत तथा उद्धारको नाममा सेनाको पछिल्लो सक्रियता र समयसन्दर्भबारे पनि प्रश्न उठाए। राहत र उद्धारमा सेनाको उपस्थितिको प्रभावकारिता स्पष्ट हुनुपर्ने उल्लेख गर्दै अध्यक्ष ओलीले अहिलेको मुख्य प्राथमिकता राहत, उद्धार र पुनःस्थापना हुनुपर्ने बताए।
‘नेपाली सेना राजनीतिक विवादमा मुछिनै नहुने संस्था हो। तर गत वर्षदेखि यसलाई विवादमा तान्ने काम भइरहेको छ,’ अध्यक्ष ओलीले भने। उनले बाढी तथा पहिरोबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई पनि समानान्तर रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याए।
प्रदेश सरकारमार्फत विभिन्न स्थानमा तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण तथा अवरुद्ध सडक सञ्चालन गर्ने काम भइरहेको जानकारी दिँदै ओलीले राहत, उद्धार र पुनर्निर्माणलाई एकसाथ अघि बढाउनुपर्ने धारणा राखे।
रसुवाका बाढी तथा पहिरो प्रभावित नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न राहत सामग्री हस्तान्तरण गरेका थिए।


प्रतिक्रिया