अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘ग्रीन आर्मी’को गतिविधि शंकास्पद, छानबिन हुनुपर्छ: अध्यक्ष ओली

‘ग्रीन आर्मी’को गतिविधि शंकास्पद, छानबिन हुनुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘ग्रीन आर्मी’ नामक समूहको गतिविधि, तालिम र आर्थिक स्रोतबारे गम्भीर प्रश्न उठाउँदै यसको परिचय र उद्देश्यबारे सरकारसँग स्पष्ट जवाफ माग गरेका छन्।

बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनका क्रममा बोल्दै अध्यक्ष ओलीले उक्त समूहले २०७२ सालको भूकम्प र कोभिड-१९ महामारीका बेला राहत कार्य गरेको दाबी तथ्यहीन रहेको बताएका छन्। सेनाको चुस्ताजस्तै पोशाक र कतिपय व्यक्तिले दर्जायानी चिह्नसमेत प्रयोग गरेकोप्रति आपत्ति जनाउँदै अध्यक्ष ओलीले ७० हजार सदस्य रहेको दाबी गरिएको समूहको तालिम, परिचालन र खर्चको स्रोतबारे छानबिन हुनुपर्ने बताए।

आफू प्रधानमन्त्री हुँदा उक्त संस्था दर्ता भएको भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै ओलीले संस्था दर्ता गर्ने काम प्रधानमन्त्रीको नभई सम्बन्धित प्रशासनिक निकायको जिम्मेवारी भएको स्पष्ट पारे। यति ठूलो सङ्ख्याको जनशक्ति कसरी लामो समयसम्म गोप्य रह्यो र एक्कासि उद्धारका नाममा सार्वजनिक भयो भन्ने विषय शंकास्पद रहेको उनको भनाइ थियो। रक्षा मन्त्रालय, गृह मन्त्रालय, नेपाली सेना र सशस्त्र प्रहरी बलले यसबारे जनतालाई स्पष्ट जानकारी दिनुपर्नेमा उनले जोड दिए।

‘यो संस्था २०७२ सालमा थिएन, कोभिडको समयमा पनि थिएन,’ अध्यक्ष ओलीले भने, ‘गत वर्ष रसुवामा बाढी आउँदा वा अन्य राजनीतिक घटनाक्रमका बेला पनि यस्ता युनिफर्मधारी जनशक्ति देखिएको थिएन।’ सेनाले एनसीसीमार्फत विद्यार्थीलाई तालिम दिने भए पनि यो समूहले कसरी र कुन प्रक्रियाबाट तालिम प्राप्त गर्‍यो भन्ने प्रश्न उठाउँदै उनले यसको आर्थिक स्रोतबारे पनि पारदर्शिता आवश्यक रहेको बताए।

अध्यक्ष ओलीले नेपाली सेना र नेपाल प्रहरीले विपद्का समयमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै ‘ग्रीन आर्मी’ जस्ता अपारदर्शी समूहको परिचालनले सुरक्षा तथा कानुनी व्यवस्थामाथि चुनौती सिर्जना गर्न सक्ने चेतावनी दिए।

यसैबीच अध्यक्ष ओलीले बाढीपहिरो पीडितलाई प्रत्यक्ष राहत उपलब्ध गराउनु एमालेको मुख्य प्राथमिकता रहेको बताए। पार्टीले कार्यकर्ता परिचालनमार्फत राहत सङ्कलन तथा वितरण गरिरहेको उल्लेख गर्दै प्रारम्भिक रूपमा करिब १ करोड २० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सहयोग वितरण गर्ने लक्ष्य राखिएको जानकारी दिए। सरकारी कोषमा सहयोग गर्न सकिने भए पनि तत्काल पीडितसम्म राहत पुर्‍याउनु अहिलेको आवश्यकता भएको उनको भनाइ थियो।

अध्यक्ष ओलीले प्राकृतिक विपद्को समयमा कृत्रिम तस्बिर र एआईबाट निर्मित दृश्य प्रयोग गरी सस्तो लोकप्रियता खोज्ने प्रवृत्तिको समेत आलोचना गरे। अहिलेको प्राथमिकता उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै उनले प्रचारमुखी होइन, सेवामुखी भएर काम गर्न सबैलाई आग्रह गरे। बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिको सामना गरिरहेका बेला पीडितको सेवाभन्दा प्रचारबाजीलाई प्राथमिकता दिनु उचित नहुने उनको धारणा थियो।