अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पुँजी बजारले फड्को नमारेसम्म अर्थतन्त्र अघि बढ्न सक्दैन: सुरकृष्ण वैद्य

पुँजी बजारले फड्को नमारेसम्म अर्थतन्त्र अघि बढ्न सक्दैन: सुरकृष्ण वैद्य


काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले पुँजी बजारलाई वास्तविक अर्थतन्त्रसँग जोड्दै दीर्घकालीन लगानी जुटाउने माध्यमका रूपमा विकास गर्नुपर्ने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष वैद्यले बैंकिङ्ग समाचारको आयोजना र नासा सेक्युरिटिजको मुख्य प्रायोजनमा आयोजित ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ लाई सम्बोधन गर्दै सो बताएका हुन्। वैद्यले नेपालको पुँजी बजार केही संस्थामा मात्रै सीमित नभएको भन्दै लाखौँ नागरिकसँग डिम्याट खाता रहेको उल्लेख गरे। पुँजी बजारले रोजगारी सिर्जना र अर्थतन्त्रमा पुऱ्याएको योगदानबारे पनि मूल्याङ्कन गर्नुपर्ने उनको भनाइ छ।

सरकारी स्रोत र बैंकिङ प्रणालीबाट मात्रै आर्थिक लक्ष्य हासिल गर्न नसकिने भन्दै उनले पुँजी बजारलाई थप परिचालन गर्नुपर्ने बताए। संस्थागत ऋणपत्र, सामूहिक लगानी कोषलगायत वित्तीय उपकरणको विस्तार गर्नुपर्नेमा उनले जोड दिए। वैद्यले पुँजी बजार लगानीकर्ताका लागि अनुमान गर्न सकिने र स्थिर हुनुपर्ने बताए। नीति निर्माण गरेपछि त्यसबाट पछि नहट्ने गरी पर्याप्त छलफल गर्नुपर्ने उनको भनाइ छ। उनले धितोपत्र बोर्डलाई नेपाल राष्ट्र बैंकजस्तै स्वायत्त निकायका रूपमा सञ्चालन गर्नुपर्ने बताए। बोर्डको सञ्चालक समितिमा विज्ञता र दक्षताका आधारमा व्यक्ति नियुक्त गर्नुपर्ने तथा कर्मचारीलाई पनि स्वायत्त रूपमा काम गर्ने वातावरण बनाउनुपर्ने उनको धारणा छ।

वैद्यले अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मान्दा नेपालको आफ्नै अवस्था र लगानीकर्ताको व्यवहारलाई समेत ध्यान दिनुपर्ने बताए। अधिकांश लगानीकर्ता पूर्ण जानकारीका आधारमा कारोबार नगर्ने भएकाले व्यावहारिक पक्षलाई केन्द्रमा राखेर नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ। १० कित्ते सेयर वितरणको नीतिमाथि प्रश्न उठाउँदै उनले न्यून रकम लगानी गर्ने लगानीकर्ताले कम्पनीको व्यवस्थापन र सञ्चालकको कामबारे प्रभावकारी रूपमा प्रश्न उठाउन नसक्ने बताए। सेयर बजार र घरजग्गालाई अनुत्पादक क्षेत्रका रूपमा राखेर लगाइएको सीमाले बजारलाई प्रभावित गरिरहेको भन्दै वैद्यले सेयर बजारलाई अनुत्पादक क्षेत्र मानेर नीति तथा नियम बनाउन नहुने बताए। ‘पुँजी बजारले फड्को नमारेसम्म अर्थतन्त्र अघि बढ्न सक्दैन,’ उनले भने।