अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देवीघाटमा बन्दै गरेको पुललाई ‘सम्पन्न’ भन्दै रास्वपा नेता हिमेशले फैलाए भ्रम

देवीघाटमा बन्दै गरेको पुललाई ‘सम्पन्न’ भन्दै रास्वपा नेता हिमेशले फैलाए भ्रम


काठमाडौं-रसुवाको भोटेकोशीमा आएको बाढीका कारण नुवाकोटको तादी खोलास्थित देवीघाटको पुल बगेपछि अहिले नयाँ पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ। तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कमेडियन हिमेश पन्तले पुल निर्माण सम्पन्न भइसकेको भन्दै एआईबाट सिर्जना गरिएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेपछि आलोचना भएको छ।

पन्तले सामाजिक सञ्जालमा देवीघाटमा बेली ब्रिज निर्माण भइरहेको भन्दै नेपाली सेना, सडक विभाग, प्राविधिक तथा श्रमिक टोलीको प्रशंसा गरेका छन्। उनले विपद्पछि सडक सम्पर्क पुनःस्थापनामा भइरहेको कामलाई ‘फास्ट डेभलपमेन्ट’को उदाहरणका रूपमा प्रस्तुत गरेका छन्।

तर, नुवाकोट सदरमुकामलाई काठमाडौंसँग जोड्ने महत्वपूर्ण सडकखण्डअन्तर्गत पर्ने तादी खोलाको पुल अझै निर्माणाधीन अवस्थामा छ। नेपाली सेनासहितको प्राविधिक टोली पुल निर्माणमा खटिरहेको छ।

नुवाकोटका पत्रकार रामहरि न्यौपानेले निर्माणाधीन पुलको पछिल्लो तस्बिर सार्वजनिक गर्दै पुल सम्पन्न हुन अझै केही दिन लाग्ने बताएका छन्। उनका अनुसार नियमित रूपमा काम भए देवीघाटमा निर्माण भइरहेको ‘एक्रोब्रिज’ आगामी बुधबारसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।

न्यौपानेले विपद्को समयमा एआईबाट तस्बिर बनाएर पुल निर्माण सम्पन्न भइसकेको गलत सन्देश प्रवाह नगर्नसमेत आग्रह गरेका छन्।

पन्तले पोस्ट गरेको तस्बिर रास्वपाका अन्य नेता तथा कार्यकर्ताले समेत सामाजिक सञ्जालमा सेयर गर्दै पुल निर्माण सम्पन्न भएको सन्देश प्रवाह गरिरहेका छन्। तर, स्थलगत रूपमा भने पुल निर्माणको काम जारी रहेको बताइएको छ।

पुल निर्माणमा नेपाली सेनाको प्राविधिक टोलीसहित सम्बन्धित निकायहरू निरन्तर खटिरहेका छन्। पुल पूर्ण रूपमा सञ्चालनमा आउन अझै करिब तीनदेखि चार दिन लाग्ने बताइएको छ।